डडेल्धुरा, २ साउन/भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन् ।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप शनिबार बिहान करिब ३ बजे सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीय हनु लोथ्याल रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी रहेका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।



