आज राति सुदूरपश्चिममा धेरै भारीदेखि अति भारी वर्षाको चेतावनी

भर्खरै

धनगढी, २ साउन/जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा शनिबार भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार मनसुनी वायु सक्रिय रहेकाले आगामी तीन दिनसम्म प्रदेशका केही स्थानमा लगातार वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। शनिबार रातिदेखि प्रदेशका पहाडी तथा तराईका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने जनाइएको छ।
भारी वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने भएकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध हुने, ग्रामीण क्षेत्रमा जनजीवन प्रभावित हुने तथा कृषि, पर्यटन र हवाई यातायातमा समेत असर पर्न सक्ने विभागको चेतावनी छ।