धनगढी, १ साउन/बिहीबार दिउँसो धनगढीस्थित एक होटलको एक कोठामा असामान्य चहलपहल थियो। चिकित्सक, नर्स, पत्रकार र अस्पतालका कर्मचारीहरू भेला भएका थिए। सबैको ध्यान एउटी युवतीतर्फ केन्द्रित थियो।
उता अस्पतालको बेडमा सुतेकी बन्दना लिम्बुको अनुहारमा हल्का मुस्कान थियो। त्यही मुस्कानले झण्डै दुई वर्षको पीडा, संघर्ष र आशाको कथा सुनाइरहेको थियो।
उनी अस्पताल छोड्दै थिइन्। तर यो कुनै सामान्य ‘डिस्चार्ज’ थिएन। यो एउटा परिवारले झण्डै दुई वर्षपछि राहतको सास फेरेको दिन थियो। डडेल्धुराको सामान्य परिवारकी बन्दना । ३१ साउन, २०८१ मा घर नजिकै साइकल सिक्दै गर्दा उनी एक्कासि लडिन्। सामान्य दुर्घटना ठानिएको त्यो घटना केही मिनेटमै जीवनकै सबैभन्दा ठूलो संकटमा बदलियो।
पहिले डडेल्धुरा अस्पताल पुर्याइयो । तर, अवस्था गम्भीर देखिएपछि त्यही दिन धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा रिफर गरियो। भर्ना भएको भोलिपल्ट उनको पहिलो शल्यक्रिया भयो। त्यसपछि अर्को ठूलो शल्यक्रिया। फेरि थप उपचार। सघन निगरानी, फिजियोथेरापी, पुनःस्थापना ।
एक दिन… एक हप्ता… एक महिना… गर्दै समय बित्दै गयो । बन्दनाका लागि अस्पतालको कोठा नै संसार बन्यो ।
अस्पतालका न्यूरो सर्जन डा. सन्देश दाहालका अनुसार बन्दनाको उपचार यति लामो हुनुको मुख्य कारण प्रारम्भिक उपचारमा भएको ढिलाइ थियो ।
“दुई वर्षको अवधिमा हामीले बन्दनाभन्दा पनि गम्भीर अवस्थाका करिब २५० बिरामीलाई उपचार गरेर घर पठाएका छौँ,“ उनले भने, “तर बन्दनाको उपचारमा ढिलाइ भएका कारण उनको पुनःस्थापनामा असाधारण रूपमा लामो समय लाग्यो ।’’ तर, चिकित्सकहरूले हार मानेनन् । हरेक दिन नयाँ प्रयास भयो । सानो सुधारलाई पनि ठूलो उपलब्धि मानियो ।
अर्कोतर्फ बन्दनाको परिवार अर्को संघर्षमा थियो । अरूको जग्गामा सानो घर बनाएर दैनिक ज्याला मजदुरी गर्दै गुजारा चलाउने परिवारसँग लाखौँ रुपैयाँ उपचार खर्च जुटाउने कुनै उपाय थिएन । दिन बित्दै जाँदा उपचार खर्च पनि बढ्दै गयो ।
यही बेला ‘फारवेस्टर्न राइडर’का नामले परिचित भरतविक्रम शाहले सहयोग अभियान सञ्चालन गरे । विभिन्न व्यक्तिबाट पाँच लाख रुपैयाँ संकलन भयो । तर, त्यो रकम पर्याप्त थिएन ।

बाँकी खर्च कसरी तिर्ने भन्ने चिन्ता परिवारलाई दिनरात सताइरहेको थियो । बिहीबार आयोजित मिडिया ब्रिफिङमा अस्पतालका अध्यक्ष तीर्थराज पन्तले सबैलाई भावुक बनाउने निर्णय सुनाए । बन्दनाको उपचारमा बाँकी रहेको ३१ लाख ७० हजार रुपैयाँ अस्पतालले पूर्ण रूपमा मिनाहा गर्ने । कार्यक्रम हल केही क्षण मौन भयो । त्यो घोषणा एउटा आर्थिक निर्णय मात्र थिएन । त्यो एउटा परिवारको काँधबाट वर्षौंदेखिको भारी हटाउने क्षण थियो । अध्यक्ष पन्तले भने, “यो उदारता होइन : यो स्वास्थ्य सेवाप्रतिको हाम्रो मानवीय दायित्व, सामाजिक उत्तरदायित्व र सेवामूलक प्रतिबद्धताको अभिव्यक्ति हो ।’’
अस्पतालले उपचार खर्च मात्र मिनाहा गरेन । घर फर्किएपछि बन्दनाको दैनिक जीवन सहज होस् भनेर उनलाई आरामदायी ह्विलचेयर पनि उपहारस्वरूप प्रदान गरियो । त्यो ह्विलचेयर केवल एउटा सामग्री थिएन । त्यो नयाँ जीवनतर्फको यात्राको सहयात्री थियो बन्दनाका लागि ।
बन्दनाकी आमा धनमाया लिम्बुको आँखामा खुसी र आँसु एकसाथ देखिन्थ्यो । झण्डै दुई वर्ष अस्पतालको गल्ली, औषधि, उपचार र आर्थिक चिन्ताबीच बिताएकी उनले अन्ततः छोरीलाई घर लैजाने दिन देखिन् । उनीसँग अस्पताल, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सहयोग गर्ने सबैप्रति धन्यवादबाहेक अरू कुनै शब्द थिएन ।

२३ महिनापछि बन्दना अस्पतालबाट बाहिर निस्कँदा एउटा बिरामी मात्र घर फर्किइनन् । सँगै फर्कियो एउटा परिवारको आशा । जीवनमा सबैभन्दा कठिन समय पार गरेकी एक युवतीको मुस्कानले अस्पतालका स्वास्थ्यकर्मीलाई पनि सन्तुष्ट बनायो । कहिलेकाहीँ उपचार औषधि र शल्यक्रियाले मात्र पूरा हुँदैन । त्यसलाई पूर्णता दिन मानवीयता पनि चाहिन्छ । बन्दना लिम्बुको कथा त्यसैको एउटा जीवन्त उदाहरण बनेको छ, जहाँ स्वास्थ्य सेवा व्यवसायभन्दा माथि उठेर मानवताको पर्याय बन्यो ।



