धनगढी, ३२ असार/नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा सुदूरपश्चिमका चर्चित साहित्यकार तथा धनगढी निवासी रामलाल जोशीको नाम सिफारिस गरिएको छ।
प्रतिष्ठानका नयाँ पदाधिकारी चयनका लागि गठित छनोट समितिले जोशीको नाम सदस्य सचिवका रूपमा सरकार समक्ष सिफारिस गरेको हो।
रामलाल जोशी नेपालका चर्चित समकालीन कथाकार, उपन्यासकार, निबन्धकार तथा पत्रकार हुन्। कैलालीको धनगढी निवासी जोशीले नेपाली साहित्यमा सुदूरपश्चिमको समाज, संस्कृति, ग्रामीण जीवन, वर्गीय विभेद, गरिबी, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर सशक्त लेखन गर्दै आएका छन्। उनका कृतिहरूमध्ये ‘ऐना’, ‘बा’आमा’ विशेष चर्चित छन्।
त्यसैगरी प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी र उपकुलपतिमा अभिनाश श्रेष्ठको नाम पनि सिफारिस गरिएको छ।
छनोट समितिले पदाधिकारीको नाम टुंगो लगाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइसकेको जनाइएको छ।
यस्तै, प्राज्ञ सदस्यका लागि तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलाषी, प्रतिसरा सायमी र कृष्ण सर्वहारीको नाम सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ।
मन्त्रालय स्रोतका अनुसार कुलपतिका लागि साहित्यकार ब्रजेश खनालको नामसमेत चर्चामा रहे पनि उनलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिफारिस गरिएको बताइएको छ।
यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वका लागि नयनराज पाण्डे, शिवानी सिंह थारु, वीणा थिङ र मञ्चला झालगायतका साहित्यिक व्यक्तित्वहरूको नाम पनि चर्चामा आएको थियो। तर, उनीहरूले प्रतिष्ठानको जिम्मेवारी लिन अस्वीकार गरेको स्रोतको दाबी छ।
छनोट समितिको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल रहेका थिए भने सदस्यमा साहित्यकार नारायण ढकाल र अर्चना थापा रहेका थिए।
स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका नामहरूलाई अनुमोदन गर्दै औपचारिक निर्णय गर्ने सम्भावना रहेको छ।



