लामो विवादपछि नयाँ नेतृत्व : अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत निर्वाचित

भर्खरै

धनगढी, ३० असार/अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा उनले ४०६ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी रमेश भट्टराईलाई २९ मतान्तरले पराजित गरेका हुन्।
भट्टराईले ३७७ मत प्राप्त गर्दा अर्का उम्मेदवार नैनसिंह कार्कीले ९० मत पाए। निर्वाचन परिणामसँगै कडायत आगामी कार्यकालका लागि संघको नेतृत्वमा पुगेका छन्।
यसपटक अध्यक्ष पदका तीन उम्मेदवारसहित चार प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। कमल कडायत, रमेश भट्टराई र नैनसिंह कार्की अध्यक्षसहितको प्यानल लिएर मैदानमा उत्रिएका थिए भने भिष्मा खड्काले वरिष्ठ उपाध्यक्षसहितको प्यानल दर्ता गराएका थिए।
निर्वाचनमा कडायत प्यानलको स्पष्ट प्रभाव देखिएको छ। अध्यक्षसहित उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, महासचिव, सचिव र तीन सदस्य गरी कडायत प्यानलबाट नौ जना निर्वाचित भएका छन्। यता, भट्टराई प्यानलबाट कोषाध्यक्ष र एक सदस्य निर्वाचित भएका छन्।
उद्योग उपाध्यक्षमा धना देवी चोखाल २७६ मतसहित विजयी भइन्। उनले भिष्मा खड्कालाई २५ मतले पराजित गरिन्। वाणिज्य उपाध्यक्षमा गणेश बोगटी ३८२ मतसहित विजयी भए भने वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त ३०३ मतसहित निर्वाचित भए।
महासचिवमा गम्भीर साउँद ३६२ मतसहित विजयी भए भने सचिवमा धिरेन्द्र बोहरा २६९ मतसहित निर्वाचित भए। कोषाध्यक्षमा भने रमेश भट्टराई प्यानलका दिपेन्द्रराज अवस्थी ३६३ मतसहित विजयी हुँदा कडायत प्यानलका बालकृष्ण ओझा पराजित भए।
सदस्य पदमा कडायत प्यानलका शेखर पनेरु, धनश्याम जोशी र डिल्लीराज ओझा विजयी भएका छन् भने भट्टराई प्यानलबाट लक्ष्मीराज ओझा सदस्यमा निर्वाचित भएका छन्।
संघमा कुल १ हजार २४ मतदाता रहेकामा ९६४ जनाले मतदान गरेका थिए। लामो समयदेखि विवादमा रहेको अत्तरिया उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन भएसँगै संस्थागत सुधार, व्यवसायीको हकहित संरक्षण र संघलाई गतिशील बनाउने अपेक्षा गरिएको छ।