एसपीए कलेजका उप–प्राध्यापक डा. भट्ट नेपाल विद्याभूषण ‘क’ बाट विभूषित

भर्खरै

धनगढी, असोज ३ । धनगढीको एसपीए कलेजका उपप्राध्यापक डाक्टर देवेन्द्रप्रसाद भट्ट (दीप्त) राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभूषित भएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयबाट वि.सं २०७१ मा पिएचडी गर्नुभएका भट्ट नेपाल विद्याभूषण ‘क’ प्राप्त गर्दै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विभूषित भएका हुन् ।

उपप्राध्यापक डा भट्टसँगै नेपाल सरकारले शिक्षा दिवसको अवसरमा देश भरिबाट २६४ जनालाई उच्च शिक्षा तर्फको ुनेपाल विद्याभूषण ‘क’ प्रदान गरेको छ ।

नेपाल सरकारले हरेक वर्ष कुनै पनि विषयमा पारङ्गत विद्वान व्यक्तित्वहरूलाई यो नेपाल विद्याभूषण ‘क’ बाट विभूषित गर्दै आइरहेको छ ।

एसपीए कलेजमा विगत १२ वर्षदेखि अध्यापनरत नेपाली भाषा, संस्कृति र साहित्यका बहुआयामिक व्यक्तित्व, व्यासाचार्य उपप्राध्यापक डा. भट्ट अहिले अध्यापनसँगै एसपीए कलेजको एम.एड, तथा बि.ए र बि.एड कार्यक्रम निर्देशकको रूपमा समेत कार्यरत छन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा जन्मिएका उपप्राध्यापक डा. भट्टले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट वैदिक संस्कृत भाषा साहित्य र व्याकरण अध्ययन आरम्भ पश्चात् नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्यसम्मको अध्ययन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एम.ए. एम.एड र नेपाल संस्कृत विश्वविद्यालयबाट २०७१ मा पिएचडी पूरा गरिसकेका छन् ।

उपप्राध्यापक डा. भट्ट वैदिक संस्कृत साहित्यको नेपाली भाषा साहित्यमा विगत दुई दशक बढी लामो समयदेखि अनवरत रूपमा लाग्दै आएका छन् ।

२०६३ देखि अध्यापन कार्यमा संलग्न रहेका उप–प्रा.डा. भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भाषा साहित्य संस्कृति आदि गोष्ठीहरूमा कार्यपत्र प्रस्तुत गर्दै आइरहेका छन् । नेपाली साहित्यमा परिस्थिति कविता सङ्ग्रह (२०५९), तीनतन्त्र उपन्यास (२०६४) द्रष्टा दृष्टि समालोचना (२०७२) सिद्धगुफा तथा कालालेकी महात्म्य (२०७७) र अछामको होरी (२०७९) जस्ता काव्यकृति प्रकाशित गरिसकेका छन् ।

यस्तै, विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित, विभिन्न पत्रपत्रिकाको सम्पादनसँगै थुप्रै अभिनन्दन र सम्मान प्राप्त गरिसकेका उप–प्रा.डा. भट्ट यसअघि पनि सावित्री कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० बाट सम्मानित भइसकेका छन् ।