सेवा निवृत्त कमान्डेन्ट रबीन्द्र कुमार राजेश्वरीलाई सम्मानसहित बिदाइ

भर्खरै

धनगढी, १५ साउन/भारतको उत्तर प्रदेशस्थित ३९ औँ वाहिनी, सशस्त्र सीमा बल (एसएसबी) पलियाका कमान्डेन्ट रबीन्द्र कुमार राजेश्वरीलाई सेवा निवृत्तिको अवसरमा सम्मानसहित बिदाइ गरिएको छ।
वाहिनी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा एसएसबीका वरिष्ठ अधिकारी, जवान तथा कर्मचारीहरूको उपस्थितिमा राजेश्वरीलाई विदाई गरिएको हो।
सेवा निवृत्तिको अवसरमा आयोजित कार्यक्रममा धनगढीका युवा व्यवसायी शुभ ठाकुर विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाल–भारत मैत्री संघ कैलालीका अध्यक्ष राजिव गुप्ता, नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा, प्रदेश सदस्य भिमबहादुर चौधरी तथा पत्रकार लवदेव धामीसहितको नेपाली प्रतिनिधिमण्डललाई पनि विशेष रूपमा आमन्त्रण गरिएको थियो।


कार्यक्रमका क्रममा युवा व्यवसायी शुभ ठाकुरको नेतृत्वमा रहेको नेपाली टोलीले सेवा निवृत्त कमान्डेन्ट राजेश्वरीलाई शान्ति र मैत्रीको प्रतीकका रूपमा भगवान गौतम बुद्धको तस्बिर हस्तान्तरण गर्दै सम्मान व्यक्त गरेको थियो। त्यसपछि आयोजित सम्मान तथा विदाई समारोहमा सहभागी अतिथिहरूका लागि विशेष रात्रिभोजको समेत व्यवस्था गरिएको थियो।

समारोहमा वक्ताहरूले कमान्डेन्ट राजेश्वरीले आफ्नो सेवा अवधिभर सीमा सुरक्षा सुदृढीकरण, संगठनात्मक अनुशासन, नेतृत्व विकास तथा नेपाल–भारत सीमावर्ती क्षेत्रमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। उहाँको नेतृत्वमा वाहिनीले सुरक्षा तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको उनीहरूको भनाइ थियो।
सेवा निवृत्त कमान्डेन्ट राजेश्वरीले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण अधिकारी, जवान तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै राष्ट्र सेवामा बिताएका क्षणहरू जीवनकै सबैभन्दा गौरवपूर्ण सम्झना रहने बताए। उनले संगठनले आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे।

समारोहको अन्त्यमा कमान्डेन्ट राजेश्वरीलाई सम्मानपत्र, मायाको चिनो, पुष्पगुच्छा तथा शुभकामनासहित सम्मानपूर्वक बिदाइ गरिएको थियो। कार्यक्रममा पलियाका भाजपा नेता रवि गुप्ताको समेत उपस्थिती रहेको थियो ।