धनगढी, १५ साउन/सुदूरपश्चिम प्रदेशमै पहिलोपटक राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता धनगढीमा आयोजना हुने भएको छ। ब्ल्याक स्टोन फिटनेस धनगढीले आगामी असोज १७ गते (३ अक्टोबर २०२६) ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ आयोजना गर्ने घोषणा गरेको हो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता धनगढीस्थित सिद्धार्थ कटेजमा सञ्चालन हुने जानकारी दिएको छ। गत वर्ष सफलतापूर्वक सम्पन्न भएको ‘ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता, फारवेस्ट स्ट्रङ्गेस्ट म्यान एन्ड वुमन’बाट प्राप्त अनुभवका आधारमा यस वर्ष प्रतियोगितालाई राष्ट्रियस्तरमा विस्तार गरिएको प्रतियोगिता संयोजक ज्ञानेन्द्रराज पाण्डेले बताए।
प्रतियोगिता वर्ल्ड पावरलिफ्टिङको नियमअनुसार सञ्चालन हुनेछ। खुला पुरुष, खुला महिला, पुरुष मास्टर्स (४० वर्षमाथि) र पुरुष जुनियर्स (२३ वर्षमुनि) गरी १२ समूहमा प्रतिस्पर्धा हुनेछ। खुला पुरुषतर्फ ६ र खुला महिलातर्फ ४ तौल समूह समावेश गरिएको छ।
आयोजकका अनुसार खुला पुरुष तथा महिलाका प्रत्येक तौल समूहका स्वर्ण, रजत र कांस्य पदक विजेताले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। मास्टर्स र जुनियर्सतर्फका समग्र विजेताले पनि सोही पुरस्कार पाउनेछन्। साथै, प्रतियोगिताका समग्र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही १–१ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। पदक, उपहार सामग्री र नगदसहित प्रतियोगिताको कुल पुरस्कार राशि १५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले ५ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। दर्ता प्रक्रिया र समयसीमासम्बन्धी थप जानकारी ब्ल्याक स्टोन फिटनेसको आधिकारिक फेसबुक पेज तथा इन्स्टाग्राममार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा वर्ल्ड पावरलिफ्टिङबाट प्रमाणित निर्णायक रहने व्यवस्था गरिएको छ। यसले प्रतियोगितालाई निष्पक्ष, पारदर्शी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
संयोजक पाण्डेले प्रतियोगिताको उद्देश्य पदक जिताउने मात्र नभई युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने रहेको बताए। नियमित व्यायाम, सन्तुलित खानपान र खेलकुदमार्फत युवालाई दुर्व्यसनबाट टाढा राख्दै सकारात्मक जीवनशैली विकास गर्ने अभियानका रूपमा प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा उनले आफ्नो जीवन अनुभवसमेत सुनाउँदै विगतमा दुर्व्यसनमा फसे पनि जिम र फिटनेसको माध्यमबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए। उनले ४६ वर्षको उमेरमा नेपालका तर्फबाट एसियन पावरलिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक जितेको अनुभव सुनाउँदै व्यायामले शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
आयोजकले देशभरका पावरलिफ्टिङ खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै यस प्रतियोगिताले नेपाली खेलाडीलाई राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।



