आजदेखि ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल

भर्खरै

काठमाडौं, असोज ३ । सरकारले आजदेखि ४२ जिल्लाका ६३ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। सुपथ मूल्य पसल आगामी माघ २ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु सञ्चालनमा रहेका छन्। उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ।

उपत्यकाबाहिर भने कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरु, जनशक्ति, आर्थिक स्रोत र साधनको सीमितता अनुसार पसल सञ्चालन गरेको जनाएको छ ।

सरकारले सुपथ मूल्य पसलमार्फत यस वर्ष ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ।

यसअनुसार विभिन्न खाद्यान्न बिक्री गरिनेछ भने उपभोक्ताले सुपथ मूल्य पसलबाट खरिद गर्दा छुट पाउनेछन्।

कम्पनीका अनुसार विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी ५ रुपैयाँ छुट पाइनेछ।

त्यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजीरप्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ।

यसैगरी कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ।

कम्पनीले आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्न ठेक्काको व्यवस्था समेत गरिसकेको जनाएको छ।

सुपथ मूल्य पसलका लागि दसैँलाई लक्षित गरी कम्पनीले यस वर्ष १५ सय वटा खसीबोका र ३ सय च्यांग्रा गरी १८ सयवटा खरिद गरी बिक्री गर्ने लक्ष्य राखेको छ।