धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा

भर्खरै

धनगढी, २७ असार/धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय, सुरक्षित र पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने उद्देश्यले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ।
साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्म रहेका २१ वटा सामुदायिक विद्यालयका करिब चार हजार विद्यार्थीलाई यही भान्साघरमा तयार गरिएको दिवा खाजा वितरण गरिने भएको हो।
उपमहानगरपालिकाका अनुसार ११ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७९५ जना विद्यार्थीले नियमित रूपमा दिवा खाजा प्राप्त गर्नेछन्।
वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालय, शान्तिनगरमा भने कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई पनि यही भान्साघरबाट खाजा उपलब्ध गराइनेछ।
धनगढी–७ तिल्केचोकमा निर्माण गरिएको एकीकृत भान्साघरको शनिबार वडा नम्बर ७ का अध्यक्ष मोति राना थारूले उद्घाटन गरे। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
उपमहानगरपालिकाले ‘फुड फर लाइफ’ संस्थासँगको सहकार्य, विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगमा दुई करोड ४५ लाख ३३ हजार २९ रुपैयाँको लागतमा भान्साघर सञ्चालनमा ल्याएको जनाएको छ।
नगर प्रमुख गोपाल हमालका अनुसार भान्साघरको पूर्वाधार निर्माणमा ६८ लाख ३२ हजार ८५० रुपैयाँ, भान्सा सामग्री खरिदमा १७ लाख ४७ हजार ३९९ रुपैयाँ, खाजा ढुवानीका लागि सवारी साधन खरिदमा ३७ लाख ७७ हजार ९९८ रुपैयाँ तथा विन्डो जडान र ट्रान्सफर्मर खरिदमा १३ लाख ९२ हजार ४४५ रुपैयाँ खर्च गरिएको छ। साथै विश्व खाद्य कार्यक्रमबाट करिब ८६ लाख रुपैयाँ बराबरका उपकरण तथा सामग्री सहयोग प्राप्त भएको उनले जानकारी दिए।
नेपाल सरकारले सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रमअन्तर्गत प्रति विद्यार्थी दैनिक २० रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ। आर्थिक वर्षका १८० दिनका लागि विनियोजित रकम उपमहानगरपालिकाले विद्यालयको खातामा पठाउनेछ भने विद्यालयहरूले विद्यार्थी संख्याका आधारमा ‘फुड फर लाइफ’ संस्थालाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा ‘फुड फर लाइफ’का व्यवस्थापन प्रमुख चिरञ्जीवी दाहालले धनगढी उपमहानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई स्वस्थ, सुरक्षित र पोषणयुक्त खाजा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
धनगढी उपमहानगरपालिकाले यस वर्ष २१ वटा सामुदायिक विद्यालयबाट सुरु गरिएको एकीकृत दिवा खाजा कार्यक्रम आगामी वर्षहरूमा पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विस्तार गर्ने योजना रहेको जनाएको छ।