धनगढी, २४ असार/धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित राष्ट्रिय आधारभूत विद्यालयले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी, व्यवहारिक र सहभागितामूलक बनाउने उद्देश्यका साथ ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम लागू गरेको छ।
वि.सं. २०२७ सालमा स्थापना भएको विद्यालयले हरेक शुक्रबार बिहान ६ः३० बजेदेखि १२ बजेसम्म पाठ्यपुस्तकबाहिरका विषयवस्तुमा आधारित प्रयोगात्मक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरेको हो।
विद्यालयका प्रधानाध्यापक मानबहादुर साउँदका अनुसार ‘बुक फ्रि फ्राइडे’ अन्तर्गत विद्यार्थीलाई स्थलगत अवलोकन, परियोजना कार्य, समूहगत अभ्यास तथा अन्य व्यवहारिक सिकाइमा सहभागी गराइनेछ। यसबाट विद्यार्थीमा रहेको सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता र व्यवहारिक ज्ञानको विकास हुने विश्वास विद्यालयले लिएको छ।

कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालयले विद्यार्थीलाई चार सदनमा विभाजन गरेको छ। प्रत्येक सदनका लागि क्याप्टेन चयन गरिएको छ भने शिक्षक माया कुमारी कुँवरलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ।
प्रधानाध्यापक साउँदले ‘बुक फ्रि फ्राइडे’ सञ्चालनका लागि कार्यविधि नै तयार गरिएको जानकारी दिँदै स्थलगत अवलोकनपछि विद्यार्थीले प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था गरिएको बताए। उत्कृष्ट प्रदर्शन गर्ने सदनलाई पुरस्कृत गर्ने व्यवस्था पनि गरिएको उनले बताए।
हाल ५४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले यस कार्यक्रममार्फत परम्परागत घोकन्ते शिक्षण पद्धतिभन्दा फरक ढंगले विद्यार्थीको प्रतिभा उजागर गर्दै गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिएको जनाएको छ।



