धनगढी, २१ असार/कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका ५० वर्षीय खोजराम चौधरी मोहना नदीमा डुबेर बेपत्ता भएको एक दिनपछि मृत अवस्थामा फेला परेका छन्।
चौधरी शनिबार बिहान नदी पार गरेर खेतमा पानी तान्ने बोरिङको पाइप लैजाने क्रममा मोहना नदीमा डुबेर बेपत्ता भएका थिए। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले दिनभर खोजी गरे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।
आइतबार बिहान डुबेको स्थानबाट करिब तीन किलोमिटर तल हौसलपुर क्षेत्रमा उनको शव फेला परेको हो। सीमावर्ती भारतीय गाउँ गोलबोझियाका स्थानीयले नदीमा शव बगिरहेको देखेपछि खबर गरेका थिए। त्यसपछि भुइयाँफाँटास्थित सीमा सुरक्षा पोष्ट (बीओपी) बाट खटिएको सशस्त्र प्रहरी बलको टोली र स्थानीयवासीले हौसलपुरस्थित झोलुङ्गे पुल नजिक शव निकालेका हुन्।
स्थानीयका अनुसार मोहना नदीको कटानका कारण भुइयाँफाँटाका केही बस्तीको खेतीयोग्य जमिन नदीपारि पुगेको छ। खेतमा पुग्न स्थानीयले हरेक वर्ष ज्यानको जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ।
गत वर्ष पनि सोही गाउँका एक व्यक्तिको मोहना नदी तरेर खेत जाने क्रममा डुबेर मृत्यु भएको थियो। लगातार दोहोरिँदै आएका यस्ता घटनाले स्थानीयमा त्रास बढाएको छ। सुरक्षित आवतजावतको व्यवस्था नहुँदा वर्षेनी नदी तरेर खेती गर्न जाने किसान जोखिममा पर्ने गरेका छन्। स्थानीयले मोहना नदीमा सुरक्षित आवतजावतको स्थायी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।



