धनगढी, २० असार/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका गाउँ–गाउँ र घर–घरमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शनिबार धनगढीमा आयोजित ‘अन्तिम पहुँच स्वास्थ्य सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले स्वास्थ्य जनताको आधारभूत अधिकार र आवश्यकता भएकाले प्रत्येक नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो ।
उहाँले आफू मुख्यमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गर्दै तीमध्ये दुई वटा अस्पतालले आवश्यक मापदण्ड पूरा गरी प्रादेशिक अस्पतालका रूपमा सेवा सञ्चालन गरिसकेको जानकारी दिनुभयो। बाँकी तीन वटा अस्पताललाई पनि आवश्यक मापदण्ड पूरा गराई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो।
मुख्यमन्त्री शाहका अनुसार आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत कैलालीको टिकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने तथा जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शैयासम्म विस्तार गर्ने योजना अघि सारिएको छ । साथै, प्रादेशिक अस्पतालहरूमा मिर्गौला डायलासिस सेवा विस्तार गर्ने प्रक्रिया पनि अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो।
उहाँले बिरामीको चाप, भौगोलिक विकटता र जनताको आवश्यकतालाई ध्यानमा राख्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत स्वास्थ्य सेवा अझ प्रभावकारी बनाइने बताउनुभयो। स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि प्रदेश सरकार सबै सरोकारवालासँग संवाद र सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्दै सीमित स्रोत–साधनका कारण केही योजना अपेक्षित गतिमा अघि बढ्न नसकेको पनि स्वीकार गर्नुभयो।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा सञ्चालनमा रहेका डिजिटल स्वास्थ्य प्रणाली सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो। उहाँका अनुसार प्रदेशका २० वटा नगरपालिकामा स्मार्ट स्वास्थ्य किट, अछामका पालिकाहरूमा समुदाय स्वास्थ्य कार्यक्रम, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली, साथै मोबाइल स्वास्थ्य सेवा प्रणाली र स्वास्थ्य विवरण पाटी सञ्चालनमा रहेका छन्।
उहाँले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति’ भन्ने नारासहित डिजिटल स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो। विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न दूरचिकित्सा सेवा (टेलिमेडिसिन) सञ्चालन गर्ने, प्रदेश मातहतका अस्पतालहरूमा विद्युतीय चिकित्सकीय अभिलेख प्रणाली विस्तार गर्ने, एकीकृत स्वास्थ्य विवरण पाटी, विद्युतीय पारिवारिक स्वास्थ्य विवरण, भौगोलिक सूचना प्रणाली लगायतका प्रविधिलाई थप सुदृढ बनाउन आवश्यक बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो।
सम्मेलनमा सुदूरपश्चिममा स्वास्थ्य समस्या केवल रोगसँग मात्र सीमित नभई भौगोलिक दूरी, सडक, समय र स्वास्थ्य सेवाको पहुँचसँग समेत प्रत्यक्ष रूपमा जोडिएको विषयमा व्यापक छलफल गरिएको थियो। विशेषगरी बाजुराका विकट क्षेत्रमा डिजिटल माध्यमबाट विशेषज्ञ स्वास्थ्य सेवा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।
बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकाको संयुक्त आयोजना तथा स्मार्ट हेल्थ ग्लोबलको सहकार्यमा सम्पन्न सम्मेलनमा बाजुराका चार वटै पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीसहित प्रदेश सरकार, स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



