सुदूरपश्चिममा आज चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

भर्खरै

धनगढी, २० असार/देशभर मनसुनी वायु सक्रिय रहेकाले सुदूरपश्चिम प्रदेशमा आज दिनभर र रातिको समयमा पनि वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा साधारणदेखि आंशिक बदली रहेको छ भने प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, आज राति सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहने मौसमविद्ले बताएका छन्। पहाडी तथा तराईका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, सडक अवरोध तथा तराई क्षेत्रमा डुबान र बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानालाको आसपास बसोबास गर्ने नागरिक, यात्रु तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मनसुनको प्रभाव अझै केही दिन कायम रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा तथा अन्य बाह्य गतिविधि सञ्चालन गर्न महाशाखाले अनुरोध गरेको छ।