धनगढी, १८ असार/सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा बिहीबार राति मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
सक्रिय मनसुनी प्रणालीका कारण रातिभर प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिमसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मधेस र कोशी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण आगामी केही घण्टासम्म वर्षाको क्रम जारी रहने भएकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहन सक्छ।
विशेषगरी सुदूरपश्चिमका नदी किनार, पहाडी तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।



