धनगढी, १५ असार/धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित दक्ष इन्टरनेशनल स्कुलमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व (असार १५) विविध कार्यक्रमका साथ उल्लासपूर्वक मनाइएको छ।
पर्वलाई व्यवहारिक शिक्षासँग जोड्ने उद्देश्यले विद्यालयका साना विद्यार्थीहरू शिक्षकहरूको साथमा खेतमै पुगेर धान रोपाइँमा सहभागी भएका थिए। साना–साना हातले धान रोप्दै उनीहरूले किसानको मेहनत, कृषि कर्मको महत्व, सामूहिक कार्यको भावना तथा प्रकृतिसँगको आत्मीय सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए।

रोपाइँपछि विद्यार्थीहरूले परम्पराअनुसार दही–चिउरा खाएर असार १५ को उल्लास साटेका थिए। यस अवसरमा उनीहरूले नेपाली मौलिक संस्कृति, कृषि परम्परा तथा कृषिप्रतिको सम्मानबारे पनि सिक्ने अवसर पाएका थिए।
विद्यालयका अनुसार यस्ता सिर्जनात्मक तथा व्यवहारिक गतिविधिले बालबालिकामा सहयोगी भावना, संस्कृतिप्रतिको सम्मान, वातावरणप्रतिको जिम्मेवारी र किसानप्रतिको कृतज्ञता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

विद्यालयका प्रिन्सिपल निर्मल सिंहले पाठ्यपुस्तकमा सीमित शिक्षाभन्दा बाहिर बालबालिकालाई व्यवहारिक ज्ञानसँग जोड्न यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले कृषि, संस्कृति र परम्पराबारे बालबालिकालाई सानैदेखि जानकारी गराउँदा उनीहरूमा श्रमप्रतिको सम्मान र सामाजिक जिम्मेवारीको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो।




