धनगढी, १२ असार/सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय तथा आधुनिक दन्त उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ धनगढीस्थित कान्तिपुर डेन्टल होम एण्ड इन्स्टिट्युटले अत्याधुनिक डेन्टल इम्प्लान्ट (दाँत प्रत्यारोपण) सेवा सञ्चालनमा ल्याएको छ।
संस्थाले वरिष्ठ दन्त चिकित्सक डा. रितराज खड्काको नेतृत्वमा आधुनिक प्रविधिको प्रयोग गरी सफलतापूर्वक डेन्टल इम्प्लान्ट सेवा प्रदान गरिएको जनाएको छ।
संस्थाका अनुसार लामो समयदेखि दाँत गुमाएका, दुर्घटना, विभिन्न रोग वा अन्य कारणले दाँत निकाल्नुपरेका बिरामीहरूलाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याइएको हो। हराएको दाँतका कारण खानेकुरा राम्रोसँग चपाउन कठिनाइ हुने, बोलाइमा समस्या आउने तथा आत्मविश्वासमा समेत असर पर्ने समस्या भोगिरहेका बिरामीहरूका लागि डेन्टल इम्प्लान्ट प्रभावकारी र दीर्घकालीन समाधान हुने चिकित्सकहरूको भनाइ छ।

वरिष्ठ दन्त चिकित्सक डा. रितराज खड्काले आधुनिक दन्त चिकित्सामा डेन्टल इम्प्लान्टलाई हराएको दाँतको सबैभन्दा भरपर्दो विकल्पका रूपमा लिइने बताए। उनका अनुसार इम्प्लान्ट जबडाको हड्डीमा विशेष किसिमको टाइटेनियम स्क्रु जडान गरी त्यसमाथि कृत्रिम दाँत राख्ने प्रक्रिया हो, जसले प्राकृतिक दाँतजस्तै काम गर्ने, बलियो हुने तथा लामो समयसम्म टिक्ने विशेषता राख्छ।
उनले उचित परीक्षण, विशेषज्ञको सल्लाह र नियमित हेरचाहका साथ गरिएको डेन्टल इम्प्लान्ट धेरै वर्षसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिने बताए। “दाँत गुमाइसकेपछि लामो समयसम्म त्यसलाई बेवास्ता गर्दा जबडाको हड्डी कमजोर हुने, छेउका दाँतहरू सर्ने तथा मुखको समग्र स्वास्थ्यमा असर पर्न सक्छ। त्यसैले समयमै उपचार गराउनु आवश्यक हुन्छ,” उनले भने।
कान्तिपुर डेन्टल होम एण्ड इन्स्टिट्युटले डेन्टल इम्प्लान्ट सेवा अन्तर्राष्ट्रिय मापदण्डअनुसार संक्रमण नियन्त्रणका उपाय अपनाएर पूर्ण रूपमा सुरक्षित, स्वच्छ र हाइजेनिक वातावरणमा उपलब्ध गराइएको जनाएको छ। उपचारका क्रममा अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरिने भएकाले बिरामीले सुरक्षित र गुणस्तरीय सेवा प्राप्त गर्ने संस्थाको दाबी छ।
संस्थाका अनुसार यसअघि यस्ता सेवा लिनका लागि धेरै बिरामी काठमाडौं, नेपालगञ्ज वा भारतका विभिन्न शहरसम्म जानुपर्ने बाध्यता थियो। अब भने धनगढीमै विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा इम्प्लान्ट सेवा उपलब्ध भएकाले समय, खर्च र झन्झटसमेत कम हुने विश्वास गरिएको छ।
डा. खड्काले डेन्टल इम्प्लान्ट सबै बिरामीका लागि एउटै प्रकारले उपयुक्त नहुने भएकाले उपचारअघि विस्तृत परीक्षण आवश्यक पर्ने बताए। बिरामीको उमेर, जबडाको हड्डीको अवस्था, मुखको स्वास्थ्य तथा अन्य स्वास्थ्य अवस्थाको मूल्याङ्कनपछि मात्र इम्प्लान्ट गर्न सकिने उनले जानकारी दिए।

कान्तिपुर डेन्टल होम एण्ड इन्स्टिट्युटले दाँत सम्बन्धी विभिन्न समस्याको उपचारसँगै आधुनिक दन्त सेवाहरू पनि निरन्तर विस्तार गर्दै आएको जनाएको छ। संस्थाले सुदूरपश्चिमका नागरिकलाई राजधानी वा अन्य शहर धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय स्तरमै गुणस्तरीय दन्त उपचार उपलब्ध गराउने लक्ष्यका साथ सेवा विस्तार गरिएको उल्लेख गरेको छ।
दाँत गुमाएका वा नयाँ दाँत प्रत्यारोपण गर्न चाहने व्यक्तिहरूले धनगढीको पार्कचोकस्थित कान्तिपुर डेन्टल होम एण्ड इन्स्टिट्युटमा सम्पर्क गरी विशेषज्ञको परामर्शपछि आधुनिक डेन्टल इम्प्लान्ट सेवाको लाभ लिन सक्ने संस्थाले जनाएको छ।



