कञ्चनपुर/कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
शुक्लाफाँटा–१० झलारीमा आयोजित जागरणसभामा उहाँले मुक्तकमैया, हलिया, हरवाचरवा र कम्लरीको अधिकारको लडाइँमा सरकार सँगसँगै अघि बढ्ने उल्लेख गर्नुभयो। आफू सोही समुदायबाट आएको भन्दै उहाँले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृपाराम राना ले पुनःस्थापनामा देखिएका समस्या औँल्याउँदै कतिपयसँग लालपुर्जा भए पनि जग्गा नहुँदा र कतै जग्गा भए पनि प्रयोगयोग्य नभएको अवस्था रहेको बताउनुभयो। अर्का सांसद ज्ञानेन्द्रसिंह महत ले मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको भन्दै सुरक्षित आवास, आधारभूत सेवा र दिगो पुनःस्थापनामा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी ले दुई दशक बितिसक्दा पनि तीन हजारभन्दा बढी परिवार पुनःस्थापनाको पर्खाइमा रहेको गुनासो गर्नुभयो।
यसैबीच मन्त्री चौधरीले बेदकोटस्थित दैजी–छेला औद्योगिक क्षेत्रको अवलोकन गर्दै निर्माण प्रक्रिया अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। तीन दशकदेखि चर्चामा रहेको उक्त परियोजना वन फँडानी र प्रक्रियागत जटिलताका कारण अझै अघि बढ्न सकेको छैन।



