कैलाली ५ मा ‘मनु’ लहर : यथार्थपरक वाचा र युवामुखी एजेन्डाले मतदाता तानिँदै

भर्खरै

धनगढी, ९ फागुन/कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नर नारायण शाह ‘मनु’ तर्फ मतदाताको आकर्षण बढ्दै गएको देखिएको छ। चुनावी अभियान तीव्र बन्दै जाँदा गाउँ–टोलमा भेटघाट, घरदैलो र अन्तरक्रियामा उनको उपस्थितिले स्थानीयमा उत्साह थपिएको छ।
“गर्न सकिने कामको मात्रै वाचा” भन्ने सन्देशसहित अघि बढेका मनुले आकाशे सपना भन्दा यथार्थपरक योजना प्रस्तुत गरेको मतदाताहरूको भनाइ छ। स्थानीय मतदाता रामप्रसाद चौधरी भन्छन, “हामीलाई सम्भव काम चाहिएको छ। मनुजीले जे बोल्नुहुन्छ, त्यही अनुसार काम गर्ने विश्वास दिलाउनुभएको छ।”
चुनावी कार्यक्रमहरूमा झुटा आश्वासन नदिने र कार्यान्वयनमा जोड दिने प्रतिबद्धताले उनलाई रुचाउने मतदाता बढेका बताइन्छ। प्रेम चौधरीका अनुसार, “हामीलाई ठूला सपना होइन, परिणाम चाहिएको हो। सम्भव कुरा मात्रै भन्नु उहाँको विशेषता हो।”
युवापुस्तासँगको संवादले पनि अभियानलाई थप ऊर्जा दिएको छ। सीपमूलक तालिम, रोजगारी सिर्जना, खेलकुद पूर्वाधार र डिजिटल अवसर विस्तारका एजेन्डा सार्वजनिक गर्दै मनुले जेनेरेशन–जेडका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय युवा दीपक जोशी भन्छन्, “हामीलाई अवसर चाहिएको छ। युवामुखी योजना सुन्दा आशा बढेको छ।”
राजनीतिसँगै शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको पृष्ठभूमिले पनि उनलाई भरोसायोग्य उम्मेदवारका रूपमा उभ्याएको स्थानीयहरूको भनाइ छ। सरल स्वभाव र विवादरहित छविले मतदातामा सकारात्मक सन्देश दिएको छ।
मतदाता सरस्वती भट्ट भन्छिन्, “यस्तो प्रतिनिधि पाए क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने विश्वास छ।”
घरदैलो अभियानमा बढ्दो सहभागिता र प्रत्यक्ष संवादले चुनावी माहोल क्रमशः उनको पक्षमा बलियो बन्दै गएको समर्थकहरूको दाबी छ। समग्रमा, स्वच्छ छवि, शालीन व्यवहार र यथार्थपरक प्रतिबद्धताकै आधारमा मनुलाई जिताएर क्षेत्रको विकासमा नयाँ गति दिने अपेक्षा मतदातामा देखिएको छ।