धनगढी, ६ फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ सम्पन्न गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।
सभामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछाने लगायत सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूले सम्बोधन गरेका थिए।
वरिष्ठ नेता शाहले “रास्वपा भोट माग्न होइन, काम माग्न आएको हो” भन्दै सुदूरपश्चिमको विकासका लागि अवसर दिन आग्रह गरे। उनले सुदूरपश्चिमका पर्यटकीय स्थलहरूको विकासमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै “काठमाडौँसँग सुदूरपश्चिम नभई सुदूरपश्चिमसँग काठमाडौँ जोडिनुपर्छ” भन्ने धारणा राखे। उनले नेपालीहरू “माल पाएका तर चाल नपाएका” भन्दै व्यङ्ग्यात्मक टिप्पणीसमेत गरे।
सभापति लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि रास्वपालाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट जिताएर पठाउनुपर्ने बताए। “कि त हाम्रो सटर बन्द गर्नुस्, कि त ती पुराना पार्टीहरूको सटर बन्द गर्नुस्,” भन्दै उनले पुराना राजनीतिक शक्तिमाथि कटाक्ष गरे। जनताको अधिकारलाई वर्षौँसम्म मागका रूपमा अल्झाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
व्यवस्थापनमा कमजोरी
कार्यक्रम ११ बजे सुरु भई १ बजे समापन गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि सो अनुसार कार्यक्रम सञ्चालन हुन सकेन। उद्घाटनअघि नै स्वागत गेट ढल्नु र मञ्च व्यवस्थापनमा कमजोरी देखिनुले आयोजनामा तयारी अपुग देखिएको थियो।
पहिले मञ्च अगाडि दायाँ–बायाँ बस्ने व्यवस्था प्रस्ताव गरिए पनि शीर्ष नेताको आगमनसँगै भीड अनियन्त्रित बनेको देखियो। कार्यक्रम राजनीतिक सभाभन्दा मनोरञ्जनात्मक जमघट जस्तो देखिएको सहभागीहरूको भनाइ थियो। प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूले मन्तव्य राख्दा दर्शकको ध्यान भने शीर्ष नेताको आगमनतर्फ केन्द्रित देखिन्थ्यो।



