कैलालीमा वन भित्र भेटियो अनुहार जलाइएको अवस्थामा जंगलभित्र युवतीको शव

भर्खरै

धनगढी, २ फागुन/कैलालीको मोहन्‍याल गाउँपालिका–१ तल्लोपानीस्थित नवप्रगतिशील सामुदायिक वन क्षेत्रमा एक युवतीको शव फेला परेको छ।
शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीको शव जंगलभित्र फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द ले घटनाको पुष्टि गरेका छन्।
उनका अनुसार मृतक युवतीको पहिचान खुल्न सकेको छैन। शवको अनुहार जलाइएको अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरिएको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थी को नेतृत्वमा टोली खटिएको छ। तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालयबाट समेत विशेष अनुसन्धान टोली परिचालन गरिएको एसपी चन्दले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।