धनगढी, २२ पुस/कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पुस २६ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित सी.पी. अस्पताल प्रा.लि.को आयोजनामा बेलडाँडी गाउँपालिका–२ स्थित भवनमा शिविर सञ्चालन हुन लागेको हो । सी.पी. अस्पताल प्रा.लि.का प्रशासकीय अधिकृत हेम जोशीका अनुसार शिविरमा जनरल सर्जनद्वारा पत्थरी, बवासिर, हर्निया, हाइड्रोसिल, फिसर, पित्तथैलीको पत्थरी तथा एपेन्डिक्सको चेकजाँच गरिनेछ । साथै फिजिसियनद्वारा दम, छाती दुख्ने, उच्च रक्तचाप, मधुमेह, थाइराइडसम्बन्धी रोगको चेकजाँच तथा परामर्श प्रदान गरिनेछ । त्यसैगरी भिडियो एक्स–रे सेवा, हाडजोर्नी तथा नशारोग विशेषज्ञद्वारा ढाड दुख्ने, घुँडा तथा जोर्नी दुख्ने, हाड खिइनेजस्ता समस्याको चेकजाँच तथा परामर्श, नाक–कान–घाँटी रोग विशेषज्ञद्वारा नाक बग्ने, नाक बन्द हुने, एलर्जी, कान तथा घाँटीसम्बन्धी रोगको परीक्षण गरिनेछ । महिलासम्बन्धी सम्पूर्ण रोगको चेकजाँच तथा परामर्शका साथै निःशुल्क औषधि वितरण गरिने उहाँले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । वि.सं. २०६९ सालमा सेती प्रादेशिक अस्पताल अगाडि भाडाको सानो भवनमा केवल १५ शैयाबाट सुरु भएको सी.पी. अस्पताल हाल एक सय शैयाको सुविधासम्पन्न अस्पतालका रूपमा विस्तार भएको छ । २०७० सालमा चटकपुर हुँदै २०८२ सालदेखि बोराडाँडी ब्यारेक अगाडि रहेको आफ्नै आधुनिक भवनबाट धनगढी उपमहानगरपालिका–३, संगम टोलमा अस्पतालले सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा महिला र पुरुषका लागि छुट्टाछुट्टै वार्ड, प्राइभेट क्याबिन, शान्त र स्वच्छ वातावरणका साथै बिरामी र कुरुवाका लागि ताजा तथा स्वस्थ खानासहितको क्यान्टिन सेवा समेत उपलब्ध छ । अस्पतालका अध्यक्ष चन्द्र प्रकाश पाण्डेले भन्नुभयो, “हाम्रो उद्देश्य व्यवसाय मात्र होइन, सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध गराउनु हो ।”




