धनगढी, १८ कात्तिक/सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज रतेडी मेला लाग्दै छ । उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला (देहिजाँत) लाग्छ ।
यसवर्ष कात्तिक १८ गते आर्थात आज रतेडी मेला लाग्ने बताइएको छ । छचोडा, खनमडा, दुमडा र जिलोडा गरी चार वटा गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) छ । ती चारवटै गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ बजेको समयमा देउरो पुगेपछि दिउसेडी मेला सुरु हुने छ ।
‘बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भ्राणमा लगेर राखेपछि मेला सम्पन्न हुन्छ ।

उग्रतारा भगवती मन्दिर भगवान शिवको निवास कैलाश मानसरोवर एवं भोलेनाथकै प्रशिद्ध मन्दिर बद्रीनाथसँग साइनो गाँसिएको बताइन्छ । उग्रतारा मन्दिर डडेलधुरा जिल्ला सदरमुकाम भन्दा पाँच किमिको दुरीमा अवस्थित छ ।
अमरगढी नगरपालिका वडा नम्बर ८ मा पर्ने मन्दिर क्षेत्र डडेलधुरा बैतडी जोड्ने महाकाली राजमार्गको डकले रातागुन भन्दामाथि विशाल डाँडोमाथि छ । उग्रतारा देवीका मूल पुजारी साँकी थरका क्षेत्री हुन । भगवती देवीका आफ्ना धामी पनि छैनन । भूमिराज देउताका मुख्य धामी नै उग्रतारा देवीका धामीका रूपमा लिइन्छ ।
मानसरोवर र उग्रतारा भगवतीको इतिहास जोडिएको उग्रतारा वेदविद्या आश्रमका अध्यक्ष एवं उग्रतारा भगवतीका लौडिया पुष्पराज भट्टले बताउनुभयो। उहाँका अनुसार मानसरोर जान नसक्नेले उग्रतारा माताको दर्शन गरे मनोकामना पूरा हुने पहिलेदेखिको इतिहास रहेको र यसलाई सनातनी मात्रै व्याख्या गर्नसक्ने छन्।



