कञ्चनपुर, १२ माघ/प्रहरीले कञ्चनपुरबाट डेढ किलो बढी चरेससहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र कञ्चनपुरको संयुक्त टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामदैजीबाट लागूऔषध चरेशसहित बझाङका गमिलाल बोहरालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको टोलीले बझाङको बित्थड चिर गाउँपालिका–१ का ४० वर्षीय गमिलाल बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।
संकास्पद अवस्थामा बाटोमा हिँडिरहेको अवस्थामा बोहरालाई नियन्त्रणमा लिई जाँच गर्दा, उनको झोलामा लुकाएर राखिएको १ किलोग्राम ५८६ ग्राम चरेश फेला परेको थियो। चरेससहित पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याई थप अनुसन्धान भइरहेको जोशीले बताए ।



