अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना, किसानलाई धान काट्न सुझाव

भर्खरै

धनगढी, ५ कात्तिक/बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन । आगामी मंगलबारदेखि करिब एक सातासम्म वर्षाको सम्भावना देखिएको हो।
मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी सातादेखि वर्षा हुन सक्ने संकेत गरेका छन । उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत पूर्वानुमान चित्र सार्वजनिक गर्दै केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना देखिएको बताएका छन । विभिन्न मोडेलले वर्षा हुने स्थान र वर्षाको मात्राबारे फरक–फरक अनुमान गरेका छन्। त्यसैले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको मौसमविद् पोखरेलको भनाइ छ। मौसम पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्ला अपडेटमा ध्यान दिनुपर्ने उनले बताएका छन्।

धान काट्ने किसानलाई सतर्क रहन सुझाव
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मौसमविद् पोखरेलले धान काट्ने तयारीमा रहेका किसानलाई मौसम पूर्वानुमान हेरेर योजना बनाउन सुझाव दिएका छन्।
आगामी साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भए त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि मात्र काट्ने गरी तयारी गर्नुपर्ने उनको सुझाव छ।
केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि देखिएकाले किसानले थप सतर्कता अपनाउनुपर्ने उनले बताएका छन्। वर्षाका कारण धानबालीमा क्षति पुग्न सक्ने भएकाले मौसमको अवस्थाअनुसार कृषि कार्यको व्यवस्थापन गर्नु आवश्यक देखिएको छ।

हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
सम्भावित वर्षाले हिमाली क्षेत्रमा समेत मौसम प्रतिकूल बनाउन सक्ने भएकाले यात्रा तथा पदयात्रामा निस्कनेहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
यात्रा वा ट्रेकिङको तयारीमा रहेकाहरूले नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा आफ्नो योजना बनाउनुपर्नेछ। प्रतिकूल मौसमको सम्भावना देखिएमा जोखिमपूर्ण यात्रा स्थगित गर्ने वा वैकल्पिक योजना बनाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ
मौसम पूर्वानुमानमा अझै परिवर्तन आउन सक्ने भएकाले किसान, यात्रु तथा सर्वसाधारणले पछिल्ला मौसम अपडेटमा ध्यान दिन र सम्भावित वर्षाबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न आवश्यक देखिएको छ।