धनगढी/नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउँदै आएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले अस्पताललाई कदरपत्र प्रदान गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको आयोजनामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कदरपत्रसहित सम्मानित गरेका हुन् ।
स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा योगदान र्पुयाएको भन्दै अस्पतालका अध्यक्ष तीर्थराज पन्तलाई सम्मान गरिएको हो ।
प्रहरी कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारी, अमर तथा वीरगति प्राप्त प्रहरीका आश्रित परिवारले विभिन्न स्वास्थ्य सेवामा छुट पाउँदै आएका छन्। यस व्यवस्थाले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहज पहुँच र्पुयाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
धनगढीको हसनपुरमा रहेको १०० शय्याको निसर्ग हस्पिटलले विशेषज्ञ चिकित्सकीय सेवा, आकस्मिक उपचार, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान तथा शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले स्वास्थ्य सेवालाई व्यवसायमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा असहाय नागरिकको उपचारमा सहयोग, सामाजिक संस्थालाई आर्थिक सहायता र विपद्मा परेका समुदायलाई राहत उपलब्ध गराउने कार्यसमेत गर्दै आएको छ।
अस्पतालका अध्यक्ष पन्तले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै विपन्न, असहाय तथा आवश्यकतामा परेका नागरिकलाई सहयोग गर्ने सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रम प्रहरी नायब निरीक्षक सानुराम भट्टराईको अध्यक्षतामा भएको थियो ।



