धनगढीमा बालअधिकार तथा घटना व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न

भर्खरै

धनगढी, २९ असोज/धनगढीमा बालअधिकार, बाल संरक्षण तथा घटना व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ ।
बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धनसँगै उनीहरूसँग सम्बन्धित घटनाको पहिचान र व्यवस्थापन प्रक्रियाबारे सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिम असोज २७ गतेदेखि धनगढीमा सुरु भएको थियो । तालिममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ र १२ मा बाल संरक्षणका क्षेत्रमा कार्यरत सरोकारवाला, अभिभावक तथा टोल विकास संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।
तालिमका क्रममा समूह छलफल, खुला छलफल, पावरप्वाइन्ट प्रस्तुतीकरण तथा विभिन्न खेलका माध्यमबाट सहभागीलाई बालअधिकार, बाल संरक्षण र घटना व्यवस्थापनसम्बन्धी विषयमा सहजीकरण गरिएको थियो । सहभागीहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको तालिमले बालबालिकासँग सम्बन्धित घटनाको पहिचान, त्यसको उचित व्यवस्थापन तथा बालअधिकार संरक्षणका विषयमा व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सेभ द चिल्ड्रेन इन्टरनेशनलको सहकार्यमा सञ्चालित कर्पोरेट को–फाइनान्स परियोजनाअन्तर्गत विकासका लागि युवा ऐक्यबद्धता ((YARD) ले तालिम आयोजना गरेको हो ।
तालिमको सहजीकरण देवी लाल उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी अनुगमन तथा मूल्यांकन अधिकृत भगवती चौधरीले कार्यक्रमलाई पारदर्शी, जवाफदेही र गुणस्तरीय बनाउन संस्थाले अनुगमन, मूल्यांकन, जवाफदेहिता तथा सिकाइसम्बन्धी दृष्टिकोण (MEAL Approach) का साथै संस्थाको बाल संरक्षण नीतिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रम प्रबन्धक महेन्द्र चन्दले तालिमको उद्देश्यबारे प्रकाश पार्दै परियोजनाका क्रियाकलापलाई समुदायस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय समुदाय, अभिभावक र सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा विकासका लागि युवा ऐक्यबद्धताकी महासचिव सुमित्रा विष्टले सहभागीलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रम संयोजक डम्बर बोहराका अनुसार सेभ द चिल्ड्रेन इन्टरनेशनलको सहकार्यमा सञ्चालित कर्पोरेट को–फाइनान्स परियोजना धनगढी उपमहानगरपालिकाका वडा नम्बर २, ११, १२ र १४ मा सञ्चालन भइरहेको छ ।
परियोजनामार्फत बालअधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि बालबालिका, अभिभावक, स्थानीय समुदाय र सरोकारवालाको क्षमता अभिवृद्धिमा जोड दिइँदै आएको बोहराले बताउनुभयो । बालबालिकाको अधिकार सुनिश्चित गर्न तथा उनीहरूसँग सम्बन्धित घटनाको प्रभावकारी व्यवस्थापन गर्न समुदायस्तरमै सचेतना र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँको भनाइ छ ।
तालिमले बाल संरक्षणका क्षेत्रमा कार्यरत सरोकारवालाबीच साझा बुझाइ विकास गर्न तथा बालबालिकासँग सम्बन्धित घटनाको पहिचान र व्यवस्थापनमा थप प्रभावकारिता ल्याउन सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ ।