सुदूरपश्चिमका पहाडी समुदायमा आज ओल्के पर्वको उल्लास, मान्यजनलाई ओल्को दिने र बुढी हाल्ने परम्परा

भर्खरै

धनगढी, १ भदौ/सुदूरपश्चिममा आज पहाडी समुदायको प्रमुख सांस्कृतिक पर्व ‘ओल्के’ हर्षोल्लासका साथ मनाइँदैछ । भाद्र संक्रान्तिका दिन मनाइने ओल्के पर्वलाई यस क्षेत्रको ‘जेठो पर्व’ का रूपमा समेत लिने गरिन्छ ।
स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकका अनुसार ओल्के पर्वपछि अन्य चाडपर्व सुरु हुने भएकाले यसलाई जेठो पर्वका रूपमा मनाउने परम्परा रहेको छ ।
‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । पर्वका अवसरमा आफूभन्दा ठूलाबडा, मान्यजन तथा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड तथा विभिन्न पकवानलगायत सामग्री ओल्कोका रूपमा दिने चलन छ । आफन्त तथा इष्टमित्रको घरमा भेटघाट गर्न जाने परम्परा पनि यस पर्वको महत्वपूर्ण पक्ष हो ।
बिहानै नुहाइधुवाइ गरी घरमा विभिन्न परिकार बनाउने तथा कृषि उपज र कृषिसँग सम्बन्धित सामग्री आफन्त तथा मान्यजनलाई उपहार दिने गरिन्छ । वर्षायामपछि विभिन्न संकटबाट जोगिएर नवजीवन प्राप्त भएको खुसीयालीमा ओल्के पर्व मनाउने गरिएको स्थानीय संस्कृतिका जानकार पण्डित देवदत्त भट्ट बताउनुहुन्छ ।
सुदूरपश्चिमका विभिन्न स्थानमा ओल्केका रूपमा मन्दिरमा अन्न तथा नयाँ कृषि उपज चढाउने परम्परा पनि छ । बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा नयाँ मकै, गाबालगायत कृषि उपज चढाएर मात्रै घरमा खाने चलन रहेको दशरथचन्द नगरपालिका–८ का गणेशसिंह थापा बताउनुहुन्छ ।
ओल्के पर्वका अवसरमा विवाहित छोरी तथा बहिनी माइतीघर आउने र परिवारसँगै बसेर मिठोमसिनो खाने चलन पनि रहेको स्थानीय संस्कृतिका जानकार पण्डित शिवराज भट्ट बताउनुहुन्छ ।
कतिपय ठाउँमा ओल्के पर्वको दिनलाई ‘गब्या त्यार’ समेत भन्ने गरिन्छ । यस दिनदेखि पिँडालुको गाबाको तरकारी खाने परम्परा रहेको छ । स्थानीय खानपान तथा संस्कृतिसँग जोडिएको गाबालाई पौष्टिक खाद्यवस्तुका रूपमा समेत लिइन्छ ।
ओल्के पर्वसँगै सुदूरपश्चिममा ‘बुढी हाल्ने’ परम्परा पनि सुरु हुन्छ । भाद्र संक्रान्तिका दिन गाउँ नजिकैका अग्ला टाकुरामा स्थानीयवासीले रूखका हाँगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एकै ठाउँमा थुपार्ने गर्छन् । यसरी बनाइएको थुप्रोलाई स्थानीय भाषामा ‘बुढी’ हाल्ने भनिन्छ ।
भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई असोज संक्रान्तिको साँझ सामूहिक रूपमा जलाउने परम्परा छ । असोज संक्रान्तिलाई त्यसैले ‘बुढी पोल्ने संक्रान्ति’ पनि भन्ने गरिन्छ । उक्त दिन प्रत्येक घरबाट आगोको राँको ल्याएर सामूहिक रूपमा बुढी पोल्ने गरिन्छ ।