थारू समुदायले आज गुरही पर्व मनाउँदै, गाउँदेखि सहरसम्म उल्लास

भर्खरै

धनगढी, १ भदौ/थारू समुदायले वर्षको पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ आज कैलाली र कञ्चनपुरका गाउँदेखि सहरसम्म विभिन्न कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाइँदैछ ।
पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले गुरही पर्वलाई मौलिक सांस्कृतिक पर्वका रूपमा विशेष महत्वका साथ मनाउने गरेका छन् ।
श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन मनाइने गुरहीमा अन्य समुदायले नागको पूजा गर्ने भए पनि थारू समुदायले ‘गुरही’को पूजा गर्ने परम्परा छ । गुरही पूजा गरेमा विषालु सर्प घरमा नआउने, चट्याङ नपर्ने, आगलागीबाट जोगिने तथा रोगव्याधि र महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको छ ।
पर्वका अवसरमा थारू समुदायले कपडालगायत सामग्रीबाट गुरही तयार पार्छन् । त्यसलाई गाउँको चोक तथा सार्वजनिक स्थानमा लगेर सामूहिक रूपमा पूजा गर्ने र लट्ठीले हिर्काउने चलन छ । यसरी गुरहीलाई हिर्काउँदा घरपरिवार तथा समुदायमा रहेका अनिष्ट, रोगव्याधि र नकारात्मकता हट्ने सांस्कृतिक विश्वास रहेको छ ।
गुरही पर्वमा थारू समुदायका मौलिक गीत, नृत्य, भेषभूषा तथा परिकारको समेत विशेष महत्व हुन्छ । पछिल्लो समय युवा पुस्ताको सहभागिता बढ्दै गएपछि पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुन थालेका छन् ।
धनगढीमा पनि गुरही पर्वलाई विशेष रूपमा मनाइँदैछ । धनगढीको गुरही चोकमा ‘गुरही असरैना’ कार्यक्रम आयोजना हुँदै आएको छ । कार्यक्रममा थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा, गीत तथा नृत्य प्रस्तुत गरिन्छ ।
थारू अगुवाहरूले गुरही पर्व धार्मिक तथा सांस्कृतिक महत्वको पर्व मात्र नभई समुदायको पहिचान, एकता र मौलिक संस्कृति संरक्षण गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् ।
आधुनिकीकरण र बाह्य सांस्कृतिक प्रभावका कारण मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई गुरही पर्वको महत्व, इतिहास र परम्पराबारे जानकारी गराउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
गुरही पर्वले थारू समुदायमा आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।