बडीमालिकामा आजदेखि पूजा तथा मेला सुरु

भर्खरै

बाजुरा, १ भदौ/धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मन्दिरमा सोमबारदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै यस वर्ष मुख्य पूजाअघि नै पूजा सुरु गरिएको हो ।
बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार यस वर्ष मुख्य पूजा भदौ ११ गते हुनेछ । एकै दिन ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापनका लागि अगावैदेखि पूजा सुरु गरिएको हो । गत वर्ष बडीमालिका मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।
हरेक वर्ष बडीमालिकामा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली आउने परम्परा छ । डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’ सहितको टोली साउन २८ गते नै बडीमालिकातर्फ प्रस्थान गरिसकेको छ ।
यस वर्ष दर्शनार्थीको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ । नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि धार्मिक तथा पर्यटकीय आकर्षण थप बढेको स्थानीयको भनाइ छ । बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायले आवश्यक तयारी अघि बढाएका छन् । मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णयसमेत गरिएको छ ।
मन्दिर जाने बाटोमा संकेत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राखिनेछ । धार्मिक क्षेत्रको पवित्रता कायम राख्न मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तु लैजान निषेध गरिएको छ ।
दर्शनार्थी बिरामी परे, लेक लागे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पतालसँग समन्वय गरी उद्धार तथा स्वास्थ्य व्यवस्थापन गर्नेछन् । आवश्यक परे नेपाली सेनाले समेत उद्धार व्यवस्थापनमा नेतृत्व गर्नेछ ।
यसैबीच बडीमालिका क्षेत्रमा सञ्चार सुविधा सहज बनाउन फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मौसम खराबीका कारण उपकरण ढुवानीमा ढिलाइ भए पनि आवश्यक सामग्री हेलिकोप्टरमार्फत त्रिवेणी पाटनसम्म पुर्‍याइसकिएको छ ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालयका प्रमुख ईश्वर सिंहका अनुसार टावर निर्माणका लागि प्राविधिक टोली बडीमालिका पुगेर फर्किसकेको छ । मौसमका कारण उपकरण समयमै नपुगेपछि टोली फर्किनुपरेको थियो । अहिले स्थानीय तहले त्रिवेणी पाटनबाट टावर निर्माणस्थलसम्म सामग्री पुर्‍याउने काम अघि बढाएको छ ।
समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । त्रिवेणी क्षेत्र, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वार यहाँका प्रमुख आकर्षण हुन् ।