धनगढीमा १७ वर्षदेखि निरन्तर ‘गुरही असरैना कार्यक्रम’, संस्कृति संरक्षणसँगै सामाजिक एकताको सन्देश

भर्खरै

धनगढी, २९ साउन/थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीको गुरही चोकमा यस वर्ष पनि ‘गुरही असरैना कार्यक्रम २०८३’ आयोजना हुने भएको छ।
विगत १७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गुरही असरैना यस वर्ष पनि विविध सांस्कृतिक तथा सामाजिक गतिविधिसहित मनाउन लागिएको हो । ‘थारू समुदायको मौलिक संस्कृति संरक्षण, प्रवद्र्धन तथा सामाजिक एकताको अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
समितिका संयोजक सानु चौधरीका अनुसार गुरही थारू समुदायको मौलिक सांस्कृतिक पर्व हो । प्रकृति, कृषि र मानव जीवनबीचको अन्तरसम्बन्धसँग जोडिएको यस पर्वमा गुरही अर्थात् ड्रागनफ्लाईप्रति सम्मान व्यक्त गर्ने परम्परा रहेको छ। कृषि क्षेत्रमा हानिकारक किराको नियन्त्रण तथा वातावरणीय र जैविक सन्तुलनमा योगदान पुर्‍याउने भएकाले गुरहीलाई किसानको साथीका रूपमा सम्मान गर्ने गरिएको उहाँले बताउनुभयो।
बालबालिकादेखि समुदायसम्म जोड्ने पर्व
गुरही पर्वमा बालबालिकाको विशेष सहभागिता रहने गर्दछ। घरमै बनाइएका गुरही तथा घुँघरी लिएर बालबालिकाले गुरही असरैना गाउने, परम्परागत सोंटा लिएर सहभागी हुने तथा सामूहिक रूपमा प्रसाद वितरण गर्ने परम्परा रहेको आयोजकले जनाएको छ।
यसले बालबालिकालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै सामाजिक उत्तरदायित्व, सहकार्य र सामुदायिक एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
कार्यक्रममार्फत गुरही पर्वको संरक्षण, प्रवद्र्धन तथा दस्तावेजीकरणसँगै नयाँ पुस्तामा सांस्कृतिक हस्तान्तरण, सांस्कृतिक पर्यटनको विकास, स्थानीय कला तथा संस्कृतिको प्रवद्र्धन, महिला तथा युवाको सहभागिता अभिवृद्धि र सामाजिक सद्भाव सुदृढीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

रक्तदानदेखि सांस्कृतिक कार्यक्रमसम्म
आयोजकका अनुसार गुरही असरैना कार्यक्रमलाई यस वर्ष पनि भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ।
साउन ३१ गते बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म वातचित घरको संयोजनमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुनेछ । सोही दिन साँझ ४ बजेदेखि ६ः३० बजेसम्म गुरही चोक आसपास सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
भाद्र १ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म मुख्य गुरही असरैना कार्यक्रम आयोजना हुनेछ । दिउँसो ३ बजेदेखि ४ बजेसम्म औपचारिक कार्यक्रम, साँझ ४ बजेदेखि ६ बजेसम्म सांस्कृतिक कार्यक्रम तथा साँझ ६ः३० बजेदेखि ७ बजेसम्म गुरही समापन तथा सरसफाइ कार्यक्रम गरिने आयोजकले जनाएको छ।
विभिन्न संघसंस्थाको सहकार्य
कार्यक्रममा थारू लेखक संघ धनगढी, थारू कल्याणकारिणी सभा नगर समिति धनगढी, वातचित घर, थारू महिला सभा, थारू विद्यार्थी समाज, थारू नागरिक समाज, गुरही मूर्ति निर्माण समिति, राष्ट्रिय थारु कलाकार मञ्च, सखी मञ्च कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, थारू पत्रकार संघ, थारू महिला सञ्जाल, नगर भलमन्सा समिति धनगढी, हिरगर साहित्यिक बगाल, थारू छात्रावास धनगढी र आदिवासी जनजाति युवा महासंघलगायत विभिन्न संघसंस्थाको सहकार्य रहने जनाइएको छ ।