धनगढी, २७ साउन/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ ।
बुधबार धनगढीमा आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको बडीमालिका क्षेत्र र अछामको रामारोशन क्षेत्रलाई समेटेर वन संरक्षण क्षेत्र घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ को उपदफा (१) बमोजिम उक्त क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गरिएको हो । प्रदेश सरकारले जैविक विविधता, वन तथा वन्यजन्तुको संरक्षणसँगै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र पर्यटन प्रवद्र्धनलाई समेत ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ । मुख्यमन्त्री शाहको अध्यक्षतामा साउन १९ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले बडीमालिका र रामारोशन क्षेत्रलाई समेटेर वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुधबार औपचारिक रूपमा संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
घोषित बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्रको कुल क्षेत्रफल ४९८.४ वर्ग किलोमिटर रहेको छ । यस अन्तर्गत बाजुरा र अछाम जिल्लाका विभिन्न स्थानीय तहका वडाहरू समेटिएका छन् ।

संरक्षण क्षेत्रमा बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिकाका वडा नम्बर ५, ६, ७ र ९ समावेश छन् ।
त्यस्तै, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाका वडा नम्बर १ र २ तथा रामारोशन गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ समेत यस संरक्षण क्षेत्रभित्र समेटिएका छन् ।
बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो भने रामारोशन ताल, वनजंगल, हिमाली भू–दृश्य र जैविक विविधताका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।



