धनगढी, २७ साउन/आज अर्थात् अगस्ट १२ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। ग्रहणको पूर्ण स्वरूप उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर आन्ध्र महासागर हुँदै स्पेनसम्म देखिनेछ । तर, नेपालसहित भारत र एसियाका अधिकांश भागबाट भने ग्रहण देखिने छैन।
नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपमा देखिन लागेको यो पहिलो पूर्ण सूर्यग्रहण हो। स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका क्षेत्रमा चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्नेछ। केही स्थानमा पूर्ण ग्रहण करिब दुई मिनेटसम्म रहनेछ।
सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाश छेक्छ।
तर ध्यान दिनुहोस्—सूर्यग्रहणलाई नाङ्गो आँखाले हेर्नु जोखिमपूर्ण हुन्छ। माणित सौर्य चस्मा वा सुरक्षित सौर्य फिल्टर प्रयोग गर्नुपर्छ।
नेपालबाट आजको ग्रहण प्रत्यक्ष देखिने छैन। अनलाइन लाइभ प्रसारणमार्फत भने यसको दृश्य हेर्न सकिनेछ। अर्को पूर्ण सूर्यग्रहण सन् २०२७ अगस्ट २ मा हुनेछ।



