धनगढी, २७ साउन/नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा ग्राहकको रोजाइ पनि विस्तारै परिवर्तन हुँदै गएको छ। सहरमा मात्र चलाउनेभन्दा लामो दूरीको यात्रा, उकालो–ओरालो सडक तथा वर्षायाममा पानी जम्ने सडकमा समेत सहज रूपमा चलाउन सकिने विद्युतीय गाडीप्रति ग्राहकको चासो बढेको छ।
यही मागलाई लक्षित गर्दै टाटा मोटर्सले नयाँ पञ्च ईभी फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ। टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिमका लागि आधिकारिक वितरक धनगढीस्थित जीएआरएस ट्रेडिङ कन्सर्नसहित देशभरका सोरुमबाट नयाँ पञ्च ईभी सार्वजनिक गरेको हो।
नयाँ पञ्च ईभीमा कम्पनीले मुख्य रूपमा ब्याट्री क्षमता, रेन्ज, चार्जिङ प्रविधि, सुरक्षा र ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिएको जनाएको छ।

लामो दूरीका लागि ४६८ किलोमिटरसम्मको दाबी
नयाँ पञ्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ। ४० किलोवाट आवर ब्याट्री भएको संस्करणले एआरएआई प्रमाणित ४६८ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। वास्तविक सडक प्रयोगमा भने करिब ३३५ देखि ३५५ किलोमिटरसम्म रेन्ज प्राप्त हुने जनाइएको छ।
नेपालमा विद्युतीय सवारी प्रयोगकर्ताका लागि लामो यात्रामा देखिने प्रमुख चुनौतीमध्ये चार्जिङ पूर्वाधार र ब्याट्री सकिने चिन्ता पनि एक हो। नयाँ पञ्च ईभीमा बढाइएको रेन्जले यही ‘रेन्ज एन्जाइटी’ कम गर्ने अपेक्षा गरिएको छ।
२४ मिनेटमै २० देखि ८० प्रतिशत चार्ज
लामो रेन्जसँगै फास्ट चार्जिङलाई पनि नयाँ पञ्च ईभीको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ।
कम्पनीका अनुसार डीसी फास्ट चार्जरमार्फत ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २४ मिनेट लाग्छ। त्यस्तै, १५ मिनेटको फास्ट चार्जिङबाट करिब १३५ किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ।
नेपालका मुख्य राजमार्ग तथा सहरहरूमा चार्जिङ स्टेशनको संख्या विस्तार हुँदै गएसँगै यस्तो फास्ट चार्जिङ क्षमताले लामो दूरीको यात्रालाई थप सहज बनाउन सक्ने देखिन्छ।
१९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स
नेपाली सडकमा विद्युतीय सवारीको उपयोगिताको अर्को महत्वपूर्ण पक्ष हो—ग्राउन्ड क्लियरेन्स।
नयाँ पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ। यसले उबडखाबड सडक, स्पिड ब्रेकर तथा ग्रामीण सडकमा गाडीको तल्लो भाग ठोक्किने जोखिम कम गर्न सहयोग गर्न सक्छ।
त्यस्तै, गाडीमा ४५० मिलिमिटरको पानीमा चल्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ। वर्षायाममा सडकमा पानी जम्ने समस्या हुने नेपाली सहर तथा तराई क्षेत्रमा यो सुविधा उपयोगी हुन सक्ने देखिन्छ।
सुरक्षा र सुविधामा पनि सुधार
नयाँ पञ्च ईभीमा यात्राको सहजतासँगै सुरक्षालाई पनि प्राथमिकता दिइएको छ। गाडीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण, उकालोमा गाडी पछाडि नझर्ने प्रणाली, टायरको हावाको चाप निगरानी प्रणाली र बालबालिकाको सिट जडान प्रणाली लगायतका सुरक्षा सुविधा छन्।
त्यस्तै, १०.२५ इन्चको टचस्क्रिन सूचना तथा मनोरञ्जन प्रणाली, आवाजबाट सञ्चालन गर्न मिल्ने सनरुफ, हावा प्रवाह हुने लेदरेट सिट, ताररहित चार्जर, स्वचालित तापक्रम नियन्त्रण र ३६० डिग्री क्यामेरा जस्ता सुविधा छन्।
जीएआरएस ट्रेडिङ कन्सर्न टाटा मोटर्स धनगढी सोरुमकी म्यानेजर करिना अन्सारीका अनुसार नयाँ पञ्च ईभी ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखेर ल्याइएको हो। उहाँका अनुसार गाडीको ढोका ९० डिग्रीसम्म खुल्ने भएकाले परिवारका लागि समेत उपयोगी रहेको छ।

सुदूरपश्चिमका ग्राहकका लागि कस्तो ?
धनगढीबाट पहाडी तथा तराईका विभिन्न जिल्लातर्फ लामो दूरीको यात्रा गर्ने ग्राहकका लागि रेन्ज, ग्राउन्ड क्लियरेन्स र चार्जिङ क्षमता महत्वपूर्ण मानिन्छ।
सुदूरपश्चिमका विभिन्न भूगोलमा सडकको अवस्था फरक–फरक रहेकाले उबडखाबड सडकमा सहज सञ्चालन, पर्याप्त ग्राउन्ड क्लियरेन्स तथा लामो रेन्ज भएका विद्युतीय सवारीले ग्राहकलाई आकर्षित गर्न सक्ने देखिन्छ।
नयाँ पञ्च ईभी फेसलिफ्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। गाडी पाँच वटा रङ विकल्पमा उपलब्ध हुने जनाइएको छ।



