धनगढी, २५ साउन/प्रदेश निर्वाचन कार्यालय धनगढीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग कैलालीका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले निर्वाचनसम्बन्धी गतिविधि, गत आर्थिक वर्षमा सम्पन्न निर्वाचनका उपलब्धि तथा आगामी कार्ययोजनाबारे प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न निर्वाचनको समीक्षा गर्दै त्यसक्रममा देखिएका उपलब्धि, चुनौती तथा आगामी निर्वाचन व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।

निर्वाचन कार्यालयका अनुसार २०८३ भदौ १५ गतेसम्म प्राप्त हुने अद्यावधिक विवरण समेटेर अन्तिम मतदाता नामावली तयार गर्ने तयारी गरिएको छ ।
त्यस्तै, विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण स्थानीय तहसँगको समन्वयमा अद्यावधिक गर्ने योजना रहेको कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नयाँ नाम दर्ता तथा विवरण अद्यावधिक गर्ने कार्यलाई समेत निरन्तरता दिइने कार्यालयको भनाइ छ ।
कार्यक्रममा निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचनसँग सम्बन्धित निकाय, राजनीतिक दल तथा अन्य सरोकारवालाबीच आवश्यक समन्वय र सहकार्यमा जोड दिइएको थियो ।
निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक, आवश्यक तयारी तथा सरोकारवालासँगको समन्वयलाई प्राथमिकतामा राख्ने जनाएको छ ।



