धनगढी, २५ साउन/देशभर एलपी ग्याँसको अभाव देखिन थालेपछि त्यसको असर कैलालीमा पनि परेको छ । जिल्लाका केही ग्याँस डिलरमा भरिएका सिलिण्डर पाउन कठिन भइरहेको छ भने केही बिक्री केन्द्रमा पर्याप्त मौज्दातसमेत रहेको पाइएको छ ।
नेपाल आयल निगमले विगतको तुलनामा ग्याँसको आपूर्ति बढेको दाबी गरिरहेको छ । तर, बजारमा उपभोक्ताको माग अत्यधिक बढ्दा डिलरमा चाप परेको व्यवसायीहरूको भनाइ छ । अभावको हल्लासँगै केही उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर घरमै भण्डारण गर्न थालेपछि नियमित रूपमा एउटा सिलिण्डर मात्रै प्रयोग गर्ने उपभोक्ता समस्यामा पर्न थालेका छन् ।
बजारमा ग्याँस सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा सोमबार धनगढी बजारमा अनुगमन गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय कैलाली, नेपाल आयल निगम, नेपाल प्रहरीलगायतको टोलीले विभिन्न ग्याँस डिलर तथा बिक्री केन्द्रको निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा केही डिलरमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश बिक्री केन्द्रमा खाली सिलिण्डर मात्रै भेटिएका थिए । टोलीले ग्याँसको आपूर्ति, मौज्दात तथा बिक्री वितरणको अवस्थाबारे व्यवसायीसँग जानकारी लिएको थियो ।

‘आपूर्ति नियमित छ, माग अस्वाभाविक रूपमा बढ्यो’
ग्याँस व्यवसायीहरूका अनुसार उद्योगबाट विगतकै अनुपातमा ग्याँस आइरहेको भए पनि पछिल्लो समय ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको छ ।
ग्याँस आपूर्तिकर्ता जीवन ऐडीका अनुसार विगतमा निश्चित क्षेत्रका उपभोक्ता मात्रै ग्याँस खरिद गर्न आउने गरेकामा अहिले धनगढीका विभिन्न क्षेत्रसँगै आसपासका क्षेत्रबाट समेत उपभोक्ता आउने गरेका छन् ।
उनका अनुसार ग्राहकको संख्या झण्डै दोब्बरजस्तै भएपछि पर्याप्त ग्याँस आइरहेको अवस्थामा पनि सबैलाई तत्काल सिलिण्डर उपलब्ध गराउन कठिन भएको हो ।
“उद्योगबाट विगतकै अनुपातमा ग्याँस आइरहेको छ । तर ग्राहकको संख्या धेरै बढेको छ,” ऐडीले भने, “केहीले चार–पाँच वटासम्म सिलिण्डर भण्डारण गरेर राख्दा एउटा सिलिण्डर मात्रै राख्ने उपभोक्ता समस्यामा परेका छन् ।”
ऐडीका अनुसार बजारमा ग्याँस अभाव देखिनुको एउटा कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर घरमा भण्डारण गर्नु पनि हो । विशेषगरी आर्थिक रूपमा सक्षम तथा ठूला परिवार भएका केही उपभोक्ताले एकैपटक धेरै सिलिण्डर खरिद गरेर राख्दा सामान्य परिवार र विद्यार्थीलाई समस्या भएको उनको भनाइ छ ।
कैलालीबाट काठमाडौंसम्म पठाइँदै ग्याँस
अर्का ग्याँस आपूर्तिकर्ता धुर्वे ओझाका अनुसार कैलालीमा खरिद गरिएका ग्याँस सिलिण्डर काठमाडौंलगायत अन्य क्षेत्रमा पठाउने क्रमसमेत बढेको छ ।
कतिपय व्यक्तिले कैलालीबाट ग्याँस खरिद गरी काठमाडौंसम्म पठाउने गरेको उनले बताए । यसले स्थानीय बजारमा ग्याँसको माग थप बढाएको उनको भनाइ छ ।
ओझाले आफूले नियमित रूपमा ग्याँस बिक्री गरिरहेको भए पनि अभावको नाममा आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्न खोज्ने ग्राहकलाई बिक्री नगर्ने गरेको बताए ।
“म नियमित रूपमा ग्याँस बिक्री गरिरहेको छु । तर अभाव भयो भनेर भण्डारण गर्न ग्याँस लिन आउनेलाई बिक्री गर्दिनँ,” उनले भने ।
यसले कैलालीमा देखिएको ग्याँसको चाप स्थानीय उपभोगको मागमा मात्र सीमित नभई अन्यत्र पठाउने तथा घरमै ठूलो मात्रामा भण्डारण गर्ने प्रवृत्तिसँग पनि जोडिएको देखाएको छ ।
निगम भन्छ, ‘आपूर्ति झन् बढेको छ’
बजारमा अभाव देखिए पनि नेपाल आयल निगमले भने ग्याँस आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ ।
नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार विगतको तुलनामा यस वर्ष करिब २० प्रतिशत बढी एलपी ग्याँस आपूर्ति भएको छ ।
कार्यालयका अनुसार सुदूरपश्चिममा सामान्यतया मासिक करिब एक लाख सिलिण्डर ग्याँस बिक्री हुने गरेकोमा यस वर्ष निर्धारित समयभन्दा पाँच दिन अगावै एक लाख २० हजार सिलिण्डर बिक्री भइसकेका छन् । थप ५० हजार सिलिण्डर ग्याँस आउने क्रममा रहेको निगमले जनाएको छ ।
निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मनोहर डि.सी.का अनुसार भारतबाट ग्याँस सहज रूपमा आयात भइरहेको छ । आपूर्ति बढेको अवस्थामा समेत बजारमा अभाव देखिनु उपभोक्ताको बढ्दो मागसँग सम्बन्धित रहेको उनको भनाइ छ ।
“भारतबाट सहजै ग्याँस आयात भइरहेको छ । आपूर्तिमा कुनै समस्या छैन,” डि.सी.ले भने, “उपभोक्ताले बढी ग्याँस लगेर भण्डारण नगर्नुहोस्, ढुक्क भएर बस्दा हुन्छ ।”
उनका अनुसार थप ग्याँससमेत आउने क्रममा रहेकाले तत्काल आपूर्ति संकट सिर्जना हुने अवस्था नरहेको निगमको दाबी छ ।
अनुगमनमा कृत्रिम अभाव भेटिएन
ग्याँस अभावसम्बन्धी गुनासो बढेपछि जिल्ला अनुगमन समितिले धनगढीका विभिन्न डिलर तथा बिक्री केन्द्रको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बिक्रेताले ग्याँस लुकाएर राखेको वा कृत्रिम अभाव सिर्जना गरेको ठोस प्रमाण भने फेला नपरेको समितिले जनाएको छ ।
केही डिलरमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश बिक्री केन्द्रमा खाली सिलिण्डर मात्रै भेटिएको थियो । यसले उद्योगबाट ग्याँस नियमित रूपमा आइरहे पनि बढ्दो मागअनुसार तत्काल बिक्री गर्न कठिन भइरहेको अवस्था देखाएको अनुगमन समितिको निष्कर्ष छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले ग्याँसको वास्तविक अवस्था बुझ्न दिनभर धनगढी बजारका विभिन्न बिक्री केन्द्रको अनुगमन गरिएको बताए । “कतै समस्या छ कि भनेर हामीले दिनभर व्यापक अनुगमन गरेका थियौँ । तर त्यस्तो समस्या भेटिएन,” खत्रीले भने, “अब उपभोक्ता नै सचेत बन्नुपर्ने देखियो । आवश्यकताभन्दा बढी ग्याँस भण्डारण नगरे मात्रै यो समस्या समाधान हुन्छ ।”

एउटै परिवारले ३–५ सिलिण्डर राख्दा सामान्य उपभोक्ता समस्यामा
बजारमा देखिएको ग्याँसको चापले उपभोक्ताको व्यवहारसँग जोडिएको अर्को समस्या पनि उजागर गरेको छ । विशेषगरी विद्यार्थी, डेरामा बस्ने तथा न्यून आय भएका परिवारले सामान्यतया एकपटकमा एउटा सिलिण्डर मात्रै खरिद गर्ने गरेका छन् । तर अभाव हुने डरले केही उपभोक्ताले तीनदेखि पाँच वटासम्म सिलिण्डर घरमै राख्ने गरेको व्यवसायीहरूको भनाइ छ ।
यसरी सीमित व्यक्तिले ठूलो संख्यामा सिलिण्डर भण्डारण गर्दा बजारमा तत्काल बिक्रीका लागि उपलब्ध सिलिण्डरको संख्या घट्ने र नियमित उपभोक्ताले ग्याँस पाउन कठिन हुने अवस्था सिर्जना भएको छ । अझ अभावको हल्ला फैलिएपछि ‘भोलि नपाइएला’ भन्ने डरले उपभोक्ताले थप सिलिण्डर खरिद गर्न थालेमा बजारमा वास्तविक अभावको अवस्था सिर्जना हुनसक्ने जोखिम देखिएको छ ।
‘अभावको मनोविज्ञान’ ले समस्या झन् बढाउन सक्छ
कैलालीमा देखिएको पछिल्लो अवस्थाले ग्याँसको आपूर्ति नै रोकिएको भन्दा पनि माग र वितरण व्यवस्थापनमा चाप बढेको संकेत गर्छ ।
एकातिर निगमले विगतको तुलनामा बढी ग्याँस आपूर्ति भएको बताइरहेको छ । अर्कोतिर डिलरमा उपभोक्ताको चाप बढेको छ । त्यसमाथि केही उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्नु र कैलालीबाट अन्य क्षेत्रमा समेत ग्याँस पठाइनुले स्थानीय बजारमा उपलब्ध सिलिण्डरको संख्या घटाएको देखिन्छ ।
यस्तो अवस्थामा ‘अभावको हल्ला’ आफैंमा अर्को समस्या बन्न सक्छ । उपभोक्ताले अभावको डरले धेरै सिलिण्डर जम्मा गर्दा बजारमा चाप बढ्ने र त्यसैलाई देखेर थप उपभोक्ता ग्याँस थुपार्न थालेमा समस्या चक्रका रूपमा दोहोरिन सक्छ । त्यसैले अहिलेको मुख्य चुनौती ग्याँसको आपूर्ति बढाउनु मात्रै नभई उपलब्ध ग्याँसको समानुपातिक र व्यवस्थित वितरण गर्नु तथा उपभोक्तामा रहेको अभावको डर हटाउनु देखिएको छ ।
नियमित अनुगमन र व्यवस्थित वितरण आवश्यक
कैलालीमा तत्काल ग्याँस संकट नरहेको सरकारी निकायको दाबी भए पनि बजारमा देखिएको चापलाई सामान्य रूपमा लिन सकिने अवस्था छैन । निगम, ग्याँस उद्योग, डिलर, स्थानीय प्रशासन र उपभोक्ताबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ । विशेषगरी एउटै व्यक्तिले अस्वाभाविक रूपमा धेरै सिलिण्डर खरिद गर्ने अवस्था नियन्त्रण गर्ने, डिलरमा आउने ग्याँसको पारदर्शी वितरण गर्ने र वास्तविक रूपमा अभाव देखिएको क्षेत्रमा तत्काल आपूर्ति बढाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
त्यस्तै, प्रशासनले नियमित रूपमा डिलरको मौज्दात र बिक्री वितरणको अवस्था अनुगमन गर्नुपर्ने आवश्यकता छ । बिक्रेताले पनि उपलब्ध ग्याँसलाई समानुपातिक रूपमा वितरण गर्नुपर्ने देखिन्छ । आवश्यकता अनुसार मात्रै ग्याँस खरिद गर्ने र घरमा अनावश्यक रूपमा धेरै सिलिण्डर भण्डारण नगर्ने हो भने बजारमा अहिले देखिएको चाप उल्लेख्य रूपमा घट्न सक्छ ।



