सुदूरपश्चिम रोयल्सको पहिलो विदेशी खेलाडी बने सेफ अली जैब

भर्खरै

काठमाडौँ, २४ साउन/सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)–२०२६ का लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । उहाँले नौ खेलमा दुई अर्धशतकसहित दुई सय ७५ रन बनाउनुका साथै १२ विकेट लिनुभएको थियो ।
राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इङ्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आउनुभएको छ । बाँयाहाते ब्याटर जैबले टी–२० क्रिकेटमा एक सय १२ खेलबाट एक हजार सात सय ९२ भन्दा बढी रन बनाउनुभएको छ । उहाँको स्ट्राइक रेट एक सय ४० भन्दा माथि छ।
भाइटालिटी ब्लास्टमा मात्रै उहाँले १६ सयभन्दा बढि रन बनाइसक्नुभएको छ । स्लो लेफ्ट–आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले टी–२० क्रिकेटमा २३ विकेट लिनुभएको छ ।
जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाउनुभएको छ । “म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु,” जैबले भन्नुभएको छ । सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो । यस्तै सुदूरपश्चिम अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुवन्ध गरेको छ ।