धनगढी, ४ साउन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला अधिवेशनबाट निर्वाचित कविन्द्र ठकुल्ला नेतृत्वको कार्य समितिले अन्ततः आधिकारिकता पाएको छ। केन्द्रीय निर्वाचन आयोगले अधिवेशन विधिसम्मत रूपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै ठकुल्ला नेतृत्वको कार्य समितिलाई वैधता प्रदान गर्ने निर्णय गरेको हो।
आयोगले जिल्ला अधिवेशनलाई सदर गर्दै पदाधिकारी तथा सदस्यहरूको निर्वाचन परिणाम यथावत् कायम रहने निर्णय गरेको जनाएको छ।
गत २४ जेठमा सम्पन्न अधिवेशनपछि निर्वाचन प्रक्रियामाथि उजुरी परेपछि आयोगले तत्काल कार्य समितिलाई वैधता दिएको थिएन। उजुरीमाथिको अध्ययनपछि आयोगले निर्वाचन प्रक्रिया वैधानिक रहेको ठहर गर्दै निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएको हो।
अधिवेशनमा सभापतिमा कविन्द्र ठकुल्ला ३३५ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गरेका थिए।
उपसभापतिमा रामलखन चौधरी १५२ मतसहित विजयी भए। सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही निर्वाचित भएका थिए।
सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दीपक विक र नरदिपबहादुर धामी निर्वाचित भएका छन्। यस्तै, क्षेत्रीय सदस्यतर्फ क्षेत्र नम्बर १ मा टंकप्रसाद जैशी ढुंगाना, क्षेत्र नम्बर २ मा कृष्णबहादुर बिष्ट, क्षेत्र नम्बर ३ मा बासुदेव घरेडी र क्षेत्र नम्बर ४ मा दुर्गा अधिकारी निर्वाचित भएका थिए।
निर्वाचनअघि सभापतिका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन बहिष्कार गरेका थिए। उनीहरूको बहिष्कारका बीच पनि मतदान प्रक्रिया अघि बढाइएको थियो।
कुल ५०८ मतदाता रहेको अधिवेशनमा ३३५ मत खसेको थियो। आयोगको पछिल्लो निर्णयसँगै रास्वपा कैलालीको नयाँ नेतृत्वले औपचारिक रूपमा वैधानिक मान्यता पाएको छ।



