धनगढी, २६ असार/धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित राष्ट्रिय आधारभूत विद्यालयले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत दोस्रो सातामा हाजिरी जवाफ प्रतियोगिता तथा निःशुल्क कान परीक्षण शिविर सञ्चालन गरेको छ। विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक, सिर्जनात्मक र सहभागितामूलक सिकाइतर्फ अभिमुख गराउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको जनाएको छ।
कार्यक्रमअन्तर्गत आयोजित हाजिरी जवाफ प्रतियोगितामा विद्यालयका चारवटै सदनका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा बुद्ध सदन प्रथम, भानु सदन द्वितीय, पाशाङ सदन तृतीय तथा भृकुटी सदन सान्त्वना हुन सफल भए। प्रथम हुने बुद्ध सदनलाई ट्रफी प्रदान गरिएको थियो। उक्त ट्रफी कालिका पुस्तक सदनले उपलब्ध गराएको विद्यालयले जनाएको छ।
त्यसैगरी, ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमकै अर्को गतिविधिका रूपमा इम्प्याक्ट नेपाल कान उपचार केन्द्र, गोदावरी नगरपालिका–१, अत्तरियाको प्राविधिक सहयोगमा निःशुल्क कान परीक्षण शिविर सञ्चालन गरिएको थियो। शिविरमा विद्यार्थीहरूको कानको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको विद्यालयले जनाएको छ।
वि.सं. २०२७ सालमा स्थापना भएको राष्ट्रिय आधारभूत विद्यालयले गत सातादेखि ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम लागू गरेको हो। प्रत्येक शुक्रबार बिहान ६ः३० बजेदेखि १२ बजेसम्म नियमित पाठ्यपुस्तकको अध्ययन नगरी विद्यार्थीलाई व्यवहारिक ज्ञान, सिर्जनात्मक अभ्यास, परियोजना कार्य, स्थलगत अवलोकन, खेलकुद, हाजिरी जवाफ, स्वास्थ्य, वातावरण, कला तथा सामाजिक विषयसँग सम्बन्धित विविध गतिविधिमा सहभागी गराउने व्यवस्था गरिएको छ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर साउँदका अनुसार विद्यार्थीको सिकाइलाई सहज, प्रभावकारी, सहभागितामूलक र व्यवहारिक बनाउन यो कार्यक्रम सुरु गरिएको हो। उहाँले पाठ्यपुस्तकबाहिरका ज्ञान र अनुभवले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता र समस्या समाधान गर्ने सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानाध्यापक साउँदले विद्यालयले ‘बुक फ्रि फ्राइडे’ सञ्चालनका लागि छुट्टै कार्यविधि तयार गरी योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। कार्यक्रमलाई व्यवस्थित बनाउन विद्यार्थीलाई बुद्ध, भानु, पाशाङ र भृकुटी गरी चार सदनमा विभाजन गरिएको छ। प्रत्येक सदनका लागि विद्यार्थी क्याप्टेन तोकिएको छ भने शिक्षक माया कुमारी कुँवरलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ।
उहाँका अनुसार स्थलगत अवलोकन वा अन्य गतिविधिमा सहभागी भएपछि विद्यार्थीले अनिवार्य रूपमा अवलोकन प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। वर्षभरि सञ्चालन हुने गतिविधिको मूल्याङ्कनका आधारमा उत्कृष्ट सदनलाई पुरस्कृत गरिने योजना पनि विद्यालयले बनाएको छ।
हाल ५४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले ‘बुक फ्रि फ्राइडे’ मार्फत विद्यार्थीको प्रतिभा पहिचान, व्यवहारिक ज्ञान अभिवृद्धि तथा परियोजनामूलक सिकाइलाई संस्थागत गर्ने लक्ष्य राखेको जनाएको छ। विद्यालय प्रशासनका अनुसार आगामी दिनमा विज्ञान प्रयोग, स्थानीय सम्पदाको अध्ययन, कृषि, वातावरण संरक्षण, पुस्तकालय भ्रमण, कला तथा सांस्कृतिक गतिविधिलगायतका कार्यक्रम पनि ‘बुक फ्रि फ्राइडे’ अन्तर्गत सञ्चालन गरिनेछन्।



