बडीमालिकामा फोरजी सेवा सञ्चालन, दर्शनार्थीलाई सञ्चारमा सहज

भर्खरै

धनगढी, ९ भदौ/बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा टुजी र फोरजी सेवा सञ्चालनमा आएको छ। टावर निर्माण तथा आवश्यक उपकरण जडानको काम सम्पन्न भएपछि नेपाल टेलिकमले सोमबारदेखि सेवा सुचारु गरेको हो।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका अनुसार बडीमालिकाको लौडीविनायकमा टावर निर्माण तथा जडान सम्पन्न भएसँगै बडीमालिका मन्दिर क्षेत्र, त्रिवेणी पाटन र नाटेश्वरीलगायतका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध भएको छ।
फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण साउन २६ गते हेलिकप्टरमार्फत त्रिवेणी पाटनसम्म पुर्‍याइएको थियो। त्यहाँबाट उपकरण जडानस्थलसम्म बोकेरै लगिएको थियो।
यसअघि साउन दोस्रो साता सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका थिए।
बडीमालिका मन्दिरमा भदौ १ गतेदेखि पूजा तथा मेला सुरु भइसकेको छ। मुख्य पूजा भदौ ११ गते हुने भए पनि दर्शनार्थीको चापलाई ध्यानमा राख्दै १० दिनअघिदेखि नै पूजा सुरु गरिएको हो।