हिमाली पर्यटन विकासलाई प्राथमिकतामा राख्न पर्वतारोहण संघको माग

भर्खरै

धनगढी, ९ भदौ/नेपाल पर्वतारोहण संघ सुदूरपश्चिमले प्रदेशको पर्यटन क्षेत्रबाट हुने आयआर्जन र रोजगारीको ठूलो हिस्सा हिमाली पर्यटनबाट सिर्जना गर्न सकिने भन्दै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्न माग गरेको छ।
संघले नवनियुक्त सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावललाई भेटेर आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा हिमाली पर्यटनसम्बन्धी कार्यक्रम समेट्न मागसहितको पत्र बुझाएको हो।
संघका अध्यक्ष किशोरकुमार खड्काका अनुसार सुदूरपश्चिममा रहेका ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको ‘पिक प्रोफाइल’ तयार गर्नुपर्ने माग गरिएको छ। यस्तै, अपि र सैपाल हिमालमा दक्ष जनशक्ति परिचालन गरी नयाँ आरोहण रुट पहिचान गर्नुपर्नेमा संघले जोड दिएको छ।


अपि र सैपालसहित अन्य हिमाल तथा पदयात्रा मार्गलाई लक्षित गरी सम्बन्धित क्षेत्रमा ट्रेकिङ गाइड, पोर्टर, रक क्लाइम्बिङ तथा हिमाल आरोहणसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने मागसमेत गरिएको अध्यक्ष खड्काले बताए।
हिमाली पर्यटनको व्यवस्थित विकास र स्थानीय जनशक्तिको क्षमता अभिवृद्धिबाट रोजगारी सिर्जना गर्नुका साथै प्रदेशको पर्यटन आम्दानी बढाउन सकिने संघको भनाइ छ।