आंशिक बदलीसँगै सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने

भर्खरै

धनगढी, २४ जेठ/सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा आज तातो दिन रहने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ ।
हाल देशभर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । प्रदेशका तराई भूभागका केही स्थानमा अत्यधिक गर्मी महसुस हुन सक्ने र तातो दिन रहने सम्भावना रहेको जनाइएको छ ।
रातिको समयमा पनि प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । यद्यपि सुदूरपश्चिममा उल्लेख्य वर्षाको सम्भावना नरहे पनि देशका पूर्वी तथा मध्य पहाडी क्षेत्रमा भने चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद्हरूले विशेषगरी तराई क्षेत्रमा उच्च तापक्रमका कारण दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन् ।