मन्त्री भट्ट सवार गाडी बैतडीमा बससँग ठोक्कियो

भर्खरै

बैतडी, २४ वैशाख/शिवराज भट्ट सवार गाडी बैतडीमा यात्रुवाहक बससँग ठोक्किएको छ। जिल्लाको मेलौली नगरपालिका–२ सलेना क्षेत्रमा महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १५३७ नम्बरको बस र मेलौलीबाट पाटनतर्फ आउँदै गरेको मन्त्री भट्ट चढेको सु.प.प्र.०१–००१ झ ४५२ नम्बरको गाडी आज साँझ करिब सवा ५ बजेतिर एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार दुवै सवारी साधन ठोक्किँदा मन्त्री सवार गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ।
प्रहरीका अनुसार घटनापछि आपसी समझदारीमा मन्त्री सवार गाडीको क्षति मर्मत गर्ने सहमति भएको छ।