सेती गोल्डकपः धनगढीबाट उठेको महिला फुटबलको ऐतिहासिक यात्रा

भर्खरै

धनगढी, १४ फागुन/आज नेपाली महिला फुटबल अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ। तर साढे दुई दशकअघि अवस्था बिल्कुलै फरक थियो-न मैदान सुनिश्चित, न अवसर, न त नियमित प्रतियोगिता। त्यही कठिन समयबीच सुदूरपश्चिमको धनगढीबाट महिला फुटबलको इतिहास बदल्ने साहसिक कदम चालियो । सेती आमन्त्रण अन्तर्राष्ट्रिय महिला गोल्डकप आयोजना गरेर नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ढोका खोलियो।
धनगढीमा आयोजित उक्त प्रतियोगिताले दर्जनौँ खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च दियो। धेरैका लागि यही प्रतियोगिता नेपाली राष्ट्रिय टिमको जर्सी लगाउने सपनाको सुरुवात बन्यो। फुटबल प्रशिक्षक यज्ञराज श्रेष्ठ भन्छन्, “महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता दिनु त्यो बेला साहसिक काम थियो। मनु दाइको व्यवस्थापन प्रशंसनीय थियो। धनगढीमा यस्तो प्रतियोगिता हुनु गर्वको कुरा हो—यसले महिला खेलप्रतिको सोच नै बदल्यो।”


त्यो समय महिला प्रतियोगिता आयोजना गर्नु आफैँमा ठूलो चुनौती थियो। स्रोतको अभाव, संरचनाको कमी र सामाजिक सोचका बाधा पार गर्दै प्रतियोगिता सफल बनाउने मुख्य व्यवस्थापक थिए नर नारायण शाह मनु। सेती गोल्डकपले आफूहरूलाई खेल्ने प्लेटफर्म दिएको नेपाली महिला फुटबल टोलीकी पूर्व कप्तान चन्द्रा भण्डारी सम्झिन्छिन्, “हामीसँग खेल्ने मञ्च नै थिएन। सेती गोल्डकपले नै हामी पनि सक्छौँ भन्ने विश्वास दिलायो। यही प्रतियोगिताबाट मेरो राष्ट्रिय टिमको यात्रा सुरु भयो।”
सेती गोल्डकप केवल एउटा प्रतियोगिता मात्र रहेन—यो महिला सशक्तिकरणको अभियान बन्यो। नयाँ पुस्ताका खेलाडी जन्मिए, राष्ट्रिय टिम थप बलियो बन्यो र समाजको दृष्टिकोण बदलियो। खेलकुदमार्फत समाज रूपान्तरणको अभियान चलाएका मनु अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा जनतामाझ छन्। खेल, युवा, महिला र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै उनी भन्छन्, “महिलालाई अवसर दिए समाज अघि बढ्छ। खेलकुद विकास मेरो प्राथमिकतामा रहनेछ।”
महिलाको मैदानबाट सुरु भएको त्यो परिवर्तन अब नीतिगत तहसम्म पुर्‍याउने लक्ष्यसहित अघि बढ्दैछन् नर नारायण शाह मनु—धनगढीबाट उठेको सेती गोल्डकपको विरासत बोकेर।