धनगढी, २१ मंसिर/मंसिर १ गतेदेखि जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करण आज समूहचरणको अन्तिम खेलसंगै नयाँ मोडमा प्रवेश गर्दैछ ।
कर्णाली याक्स र जनकपुर बोल्ट्स बिच आज दिउँसो साढे ३ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुँदैछन् । ६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।
यसैबिच, प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूर्ण रुपमा तयार भइसकेको छ । सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स प्लेआफ चरणमा प्रवेश गरिसकेका छन् ।
मंगलबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंङ्स भिड्नेछन् । उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाण्डु र लुम्बिनीबिच हुने एलिमिनेटरको विजेतासंग फाइनल प्रवेशका लागि दोश्रो मौका पाउनेछन् ।



