धनगढी/पर्व होस् वा विशेष अवसर, समाजसेवामा सक्रिय धनगढीका प्रेम मल्लले आफ्नो सामाजिक अभियानलाई निरन्तरता दिएका छन्।
विजयदशमीको अवसर पारेर धनगढी उपमहानगरपालिका–१, त्रिवेणी निवासी मल्लले जिल्ला प्रशासन कार्यालय अगाडि रक्तदान कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा २० जना नयाँ रक्तदाताले रक्तदान गरेका छन्।
मल्लले लामो समयदेखि धनगढीमा नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन्। उनी रक्तदान कार्यक्रम सञ्चालनमा मात्रै सीमित छैनन्न, अस्पतालमा उपचाररत बिरामीलाई रगत आवश्यक पर्दा त्यसको व्यवस्थापनमा समेत सक्रिय रहँदै आएका छन्।

रक्तदानसँगै मल्लले सामाजिक सेवाका अन्य अभियानमा पनि योगदान दिँदै आएका छन्। मन्दिर परिसरमा सरसफाइ तथा वृक्षरोपण, कपडा बैंकमा कपडा दान र कोरोना महामारीका बेला दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने डेढ सयभन्दा बढी परिवारलाई राहत वितरण गरेर उनले सामाजिक उत्तरदायित्व निर्वाह गरेका थिए।
रगतको अभावमा कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यसहित निरन्तर रक्तदान अभियानमा जुटेका मल्लको प्रयासले नयाँ रक्तदातालाई समेत प्रेरित गरेको छ।
सानो प्रयासले पनि कसैको जीवन बचाउन सकिन्छ भन्ने सन्देश दिँदै प्रेम मल्लले रक्तदानमार्फत मानव सेवाको अभियानलाई निरन्तरता दिएका छन्।



