धनगढीमा असोज ३१ गते ‘दसैं सांस्कृतिक उत्सव २०८३’ हुने

भर्खरै

धनगढी, २५ असोज/दसैंको अवसर पारेर कैलालीको धनगढीमा ‘दसैं सांस्कृतिक उत्सव २०८३’ आयोजना हुने भएको छ । ‘संस्कृतिको झाँकीसँगै मानव सेवा र परोपकार’ भन्ने नारासहित आयोजना हुन लागेको उत्सवमा थारू समुदायका चर्चित कलाकार मधु चौधरीसहित आरके थारू एन्ड सङ्घाती ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
धनगढीस्थित ओम प्यालेसमा असोज ३१ गते आयोजना हुने उक्त उत्सवले सुदूरपश्चिमको कला, संस्कृति, संगीत र सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्नुका साथै दसैंको खुसीलाई सांस्कृतिक कार्यक्रमसँग जोड्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार उत्सवमा विभिन्न सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिनेछ । विशेषगरी थारू समुदायको कला, संस्कृति र सांगीतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
संस्कृति प्रवद्र्धनसँगै मानव सेवा र परोपकारलाई प्राथमिकता
उत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी मानव सेवा र परोपकारलाई समेत प्राथमिकता दिने आयोजकको योजना छ । सुदूरपश्चिमको सांस्कृतिक विविधतालाई थप चिनाउन र स्थानीय कला तथा संगीतलाई प्रवद्र्धन गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ ।
कार्यक्रमका कैलाली जिल्ला संयोजक राजाराम चौधरीले उत्सवले दसैंको अवसरमा दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सांस्कृतिक गतिविधिमार्फत सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउने बताए।
उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय कला, संस्कृति र संगीतलाई व्यापक दर्शकमाझ पुर्‍याउन सहयोग गर्नेछ।
बर्दियाको राजापुरमा पनि कार्यक्रम

आयोजकले धनगढीमा हुने कार्यक्रमसँगै बर्दियाको राजापुरस्थित डायमन्ड होटल एन्ड पार्टी प्यालेसमा पनि कात्तिक २ गते सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ।
राजापुरमा हुने कार्यक्रममा समेत आरके थारू एन्ड सङ्घाती ब्यान्ड र विशेष अतिथि कलाकार मधु चौधरीको प्रस्तुति रहने जानकारी दिइएको छ।
यसबाट सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रममार्फत स्थानीय कला र संगीतको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ।
टिकट ईसेवामार्फत उपलब्ध
धनगढीमा असोज ३१ गते हुने उत्सवको टिकट ईसेवामार्फत उपलब्ध हुने आयोजकले जनाएको छ । प्रतिटिकट २५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।
दसैंको अवसरमा आयोजना हुन लागेको उत्सवमा सहभागी भई सांगीतिक प्रस्तुतिको आनन्द लिन आयोजकले दर्शकलाई आग्रह गरेको छ।