नवजीवन सहकारीका सदस्यलाई कैलाली हस्पिटलमा उपचारमा ५० प्रतिशतसम्म छुट

भर्खरै

धनगढी/नवजीवन सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले कैलाली हस्पिटल प्रा.लि.मा स्वास्थ्य उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौता नवजीवन सहकारी संस्था लिमिटेड र धनगढी उपमहानगरपालिका–१ मा सञ्चालित कैलाली हस्पिटल प्रा.लि.बीच भएको हो। सम्झौतामा नवजीवन सहकारीका अध्यक्ष गोपाल राज पाठक र कैलाली हस्पिटलका अध्यक्ष जनकराज जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नवजीवन सहकारीका शेयर सदस्य तथा उनीहरूका आमा–बुवा, श्रीमान्–श्रीमती र छोराछोरीले उक्त छुट सुविधा पाउनेछन्। छुट लिन सहकारीको शेयर सदस्य भएको प्रमाण खुल्ने शेयर प्रमाणपत्र वा परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
सम्झौताअनुसार ओपीडी टिकटमा ५० प्रतिशत छुट दिइनेछ। त्यस्तै, अस्पतालमा भर्ना हुँदा जनरल बेड र क्याबिनमा २० प्रतिशत, आईसीयू र एनआईसीयू बेडमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी जनरल सर्जरी, अर्थोपेडिक तथा गाइनोकोलोजी सेवामा १५ प्रतिशत, प्याथोलोजी परीक्षणमा १५ प्रतिशत, मिडिया एक्सरे तथा एक्सरेमा १५ प्रतिशत, इको, इन्डोस्कोपी तथा ईसीजीमा २० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट दिइने सम्झौतापत्रमा उल्लेख छ।
सम्झौता २०८३ साल असोज २२ गतेदेखि २०८४ साल असोज २१ गतेसम्म एक वर्ष लागू हुनेछ। दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था समेत गरिएको छ।

सम्झौतामा यसअघि नै कुनै विशेष प्याकेज, बीमा, सरकारी कार्यक्रम वा अन्य संस्थागत छुट सुविधा प्राप्त भइरहेको अवस्थामा भने दोहोरो छुट लागू नहुने उल्लेख छ।
नवजीवन सहकारीले आफ्ना शेयर सदस्य तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा आर्थिक सहुलियत उपलब्ध गराउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको छ। कैलाली हस्पिटलसँगको पछिल्लो सम्झौताले सदस्यहरूलाई उपचार खर्चमा राहत पुग्ने अपेक्षा गरिएको छ।