धनगढी, १९ असोज/धनगढीमा अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । चैतन्य स्पोट्र्स एकेडेमीको आयोजनामा यही असोज २४ र २५ गते प्रतियोगिता सञ्चालन हुने भएको हो ।
धनगढी उपमहानगरपालिका–५, शिवनगरस्थित चैतन्य पाठशालाको फुटसल कोर्टमा हुने प्रतियोगितामा विभिन्न विद्यालयका शिक्षक तथा शिक्षाकर्मीको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘कक्षाकोठादेखि खेलमैदानसम्म : सिकाउने, खेल्ने र प्रेरणा दिने शिक्षकहरू’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको उद्देश्य शिक्षकहरूबीच खेलकुदमार्फत सम्बन्ध, मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको विकास गर्नु रहेको आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा दर्ता रहेको चैतन्य स्पोट्र्स एकेडेमीले शिक्षक तथा शिक्षाकर्मीलाई कक्षाकोठाभन्दा बाहिर खेलमैदानमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पाठशालाका निर्देशक कठकबहादुर सिंहका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियन ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ३ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी टोलीले ७ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । टोली दर्ताको अन्तिम मिति असोज २१ गतेसम्म तोकिएको छ । सहभागी टोलीले सम्बन्धित विद्यालयका शिक्षक भएको प्रमाणित गर्न विद्यालय परिचयपत्रको प्रतिलिपि र पछिल्लो तीन महिनाको तलब भुक्तानी विवरणसहितको कागजात पेश गर्नुपर्नेछ ।
प्रतियोगितामा सम्बन्धित विद्यालयमा पूर्णकालीन रूपमा कार्यरत शिक्षक सहभागी हुन पाउनेछन् भने प्रत्येक टोलीमा बढीमा दुई जना आंशिक कर्मचारी सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।
प्रत्येक टोलीमा न्यूनतम ६ र अधिकतम १० जना खेलाडी रहनेछन् । खेलाडी परिवर्तनका लागि ‘रोलिङ सब्स्टिच्युसन’को व्यवस्था रहनेछ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।
लिग चरण र सेमिफाइनल खेलमा प्रत्येक हाफ १० मिनेट तथा फाइनल खेलमा प्रत्येक हाफ १५ मिनेटको हुने आयोजकले जनाएको छ । खेल बराबरी भएमा नकआउट चरणमा पेनाल्टीमार्फत विजेता छनोट गरिनेछ ।
प्रतियोगितामा सहभागी टोलीले उपयुक्त खेल पोसाक तथा मैदानमा दाग नछोड्ने फुटसल जुत्ता अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । खेलका क्रममा रातो कार्ड पाएमा सम्बन्धित खेलाडीले आफ्नो टोलीको अर्को खेल गुमाउने व्यवस्था पनि गरिएको छ ।
चैतन्य स्पोट्र्स एकेडेमीले प्रतियोगितामार्फत शिक्षकबीचको सम्बन्ध, मित्रता, सहकार्य र खेलभावनालाई थप मजबुत बनाउँदै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।



