धनगढी/मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि सुदूरपश्चिमसहित देशका विभिन्न भूभागमा आगामी केही दिन वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार आजदेखि पर्सिसम्म वर्षाको गतिविधि तुलनात्मक रूपमा बढ्ने सम्भावना छ । विशेषगरी पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्न सक्ने र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली बाँकी रहनुका साथै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ्ने अवस्था बनेको हो ।
उनका अनुसार तत्कालै मौसम पूर्ण रूपमा खुल्ने अवस्था देखिएको छैन । असोजको दोस्रो सातासम्म विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहे पनि घटस्थापनाको दिनदेखि वर्षाको क्रम केही कम हुनसक्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलका अनुसार आगामी तीन दिन देशका विभिन्न भूभागमा छिटपुटदेखि मध्यम वर्षाको गतिविधि जारी रहनेछ । यस अवधिमा पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढ्न सक्ने उनले बताइन् ।
आज दिउँसो काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भूभागका थोरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् पोखरेलका अनुसार भोलि असोज २० गते पहाडी भूभागका धेरै स्थानमा वर्षा हुनसक्नेछ । पर्सि असोज २१ गते भने पश्चिमदेखि पूर्वसम्मका अझै धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सो दिन सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि पछिल्लो २४ घण्टामा कर्णालीदेखि कोशी प्रदेशसम्म वर्षा भएको थियो । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि आंशिक बदली तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
मौसमविद्ले वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी तथा तराईका संवेदनशील क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।



